बगनासकालीको नयाँ प्रशासनिक भवन बन्यो

पाल्पा । बगनासकाली गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएको छ । गाउँपालिकाको १ नं. वडाको चिलाङ्दीमा निर्माण गरिएको सुविधा सम्पन्न प्रशासनिक भवनको सम्पूर्ण कार्य सकिएको हो ।

संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा कुल ६ करोड ४७ लाख ८४ हजार रुपैयाँमा भवन निर्माण भएको हो । १८ महिना भित्र कार्य सम्पन्न गर्नेगरी भएको सम्झौता भएपनि समयमा मनलयबाट बनेट निकासा नहुँनु र निर्माण सामग्रीको अभावका कारण ६ महिना म्याद थप गरेर दुई वर्षमा काम सकिएको हो । २०७८ फागुन ८ गते निर्माण कम्पनी न्यू ड्रागन आर एण्ड आर जेभीसँग भवन निर्माणका लागि सम्झौता भएको थियो । सम्झौता अनुसार भवन निर्माणको काम सकिएको भएपनि अन्तिम किस्ता गाउँपालिकामा प्राप्त नभएकोले भूक्तानी दिन नसकिएका कारण निर्माण कम्पनीले गाउँपालिकालाई भवन हस्तान्तरणको काम बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले बताउनुभयो ।

गाउँपालिकाको भवन बनाउन भैरव मन्दिर सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रमा रहेको गौचरनको जग्गा आवश्यक प्रक्रिया मिलाएर मन्त्री परिषद्को निर्णयबाट ३० वर्षका लागि भाडा लिइएको हो । गाउँपालिकाले भोगचलन गर्ने १३ रोपनी तीन आना जग्गामध्ये ११ आना जग्गाभित्र चार हजार १० वर्गफिटमा भवन निर्माण भएको गाउँपालिकाका इन्जिनियर प्रमोद कुँवरले बताउनुभयो । भवन अपाङ्गतामैत्री बनेको छ । जसमा लिफ्टको समेत व्यवस्था गरिएको इन्जिनियर कुँवरले बताउनुभयो । यो भवन जिल्लाका दश स्थानीय तह मध्य सुविधा सम्पन्न र लिफ्ट सहितको भवन पहिलो रहेको गाउँपालिकाले जनाएको छ ।

भवन निर्माण सकिको र आवश्यक प्रक्रिया पूरा गरेर २०८१ को बैशाख महिनाको पहिलो हप्ता नयाँ भवनबाट सेवा शुभारम्भ गर्ने तयारी भएको अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । हाल बगनासकाली–१, को चिर्तुङ्धारामा साविकको गाउँ विकास समितिको कार्यालय रहेको भवनबाट गाउँपालिकाको सेवा दिँदा सेवा प्रवाहमा समस्या हुँर्दै आएको छ । विषयगत शाखा धेरै र सेवाग्राही पनि धेरै हुँदा साँघुरो स्थानबाट सेवा उपलब्ध गराउँदा सेवा दिने र लिने दुवै पक्षले सास्ती खेप्नुपर्ने अवस्था रहेको अध्यक्ष चिदीले बताउनुभयो । उहाँले नयाँ भवनबाट सेवा दिन थालेपछि सेवा प्रभावकारी बन्नुका साथै सबै वडाका नागरिकलाई पायक पर्ने बताउनुभयो ।

साढे छ वर्ष बढी सानो भवन र साँघुरो कोठाबाट सेवा दिँदा समस्या भोगेका कर्मचारीले नयाँ भवनमा सरेपछि सेवा दिन सहज हुने र थप प्रभावकारी बनाउन सहयोग पुग्ने उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो । उहाँले अहिलेको भवनमा कोठा आवश्यकता अनुसार नहुँदा कतिपय शाखाले एउटै कोठाबाट सेवा दिनुपर्ने अवस्था रहेको बताउँदै उपाध्यक्ष पाठकले नयाँ भवनमा शाखा अनुसारका कोठाबाट सेवा प्रवाहको व्यवस्था हुने बताउनुभयो ।

चार तले नयाँ बनेको भवनमा करिब २२ कोठा रहेका छन् । जसमा बैठक हल, सभा हल, शाखा अनुसारको कोठा, वडाध्यक्षलाई कार्यसम्पादन कक्ष, न्यायिक इजलासलगायतको सहज व्यवस्थापन गर्न र प्रभावकारी कार्यसम्पादन गर्न सकिने अवस्था बनेको प्रवक्ता टीकाबहादुर थापाले बताउनुभयो ।

सम्बन्धित खवर