रामपुर नगरपालिकाको बजार अनुगमन

पाल्पा । रामपुर नगरपालिकाले बजार क्षेत्रका पसलहरुको अनुगमन गरेको छ । उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दैै पसलको अनुगमन गरिएको हो ।

नगरपालिकाले वडा नं. ३ को रजघरा बजार, वडा नं. ४ को सदावर्त, वडा नं. ५ को मटेरी , बाङ्गेपसल , बेझाँड बजार क्षेत्रमा रहेका पसलहरुको अनुगमन गरेको हो । बजार क्षेत्रमा रहेका खाद्य तथा किराना पसल, स्वास्थ्य क्लिनिक, मासु पसल , कस्मेटिक तथा फेन्सी पसल गरी ४६ वटा पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा मूल्य सुचि नराखेको, दर्ता नविकरण तथा सुचिकृत नगरेको, म्याद गुजे्रका अखाद्य बस्तु विक्रीका लागि राखिएको, लेबलिङ नभएको सामाग्री विक्रीका लागि राखिएको भेटिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेका पेय पदार्थ, विस्कुट ,चकलेट, चाउचाउ, झिनिया, सुर्तिजन्य पदार्थ, पाउरोटी, तेल, सुजी, औषधिलगायतका ३५ प्रकारका सामग्री बरामद गरी नष्ट गरिएको छ ।

अनुगमनका क्रममा ५६ हजार ६ सय ५९ रुपैयाँ बराबरको अखाद्य बस्तु बरामद गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो । अनुगमनका क्रममा नियमसंगत ढंकबाट व्यवसाय सञ्चालनका लागि अनुरोध गरिएको छ । अटेर गरेमा कानुनी प्रक्रिया अनुसार कारवाही गरिने रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । नगरवासी उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरी अनुगमन गरिएको अनुगमन समितिका संयोजक तथा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बताउनुभयो । साथै उहाँले उपभोक्ताको स्वास्थ र गुणस्तरीय तथा खाद्य बस्तु उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गरेर पसल व्यवसाय सञ्चालन गर्न आग्रह समेत गर्नु भयो ।

बजार अनुगमनमा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख दिनेश ज्ञवाली, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तानसेन पाल्पाका प्रमुख नरेश श्रेष्ठ , करदाता सेवा कार्यालय पाल्पाका योगमाया न्यौपाने , रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाललगायतको उपस्थिति रहेको पत्रकार दुर्गेश मल्लले जानकारी दिनुभयो ।

सम्बन्धित खवर