
पाल्पा । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले आफूले प्राप्त गर्ने तलव भत्ता सामाजिक कार्यमा लगाउर्दै आउनुभएको छ । उहाँले उक्त रकमबाट गाउँपालिका भित्रका ४० जना परिवारको स्वास्थ्य बिमा गरिदिनुभएको छ । उहाँले आफ्नो तलव भत्ताबाट प्राप्त रकमबाट विपन्न वर्गका परिवारको स्वास्थ्य बिमा गरिदिनुभएको हो ।
आर्थिक रुपमा कमजोर भएका नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच वृद्धिका लागि आफ्नै खर्चबाट स्वास्थ्य बिमाको शुल्क भूक्तानी दिएर स्वास्थ्य सेवा लिने वातावरण तयार गरिएको गाउँपालिका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीले ४० जनाको परिवारलाई प्रति परिवार ३ हजार ५ सय रुपैयाँ तिरेर स्वास्थ्य बिमामा आबद्ध गराउनुभएको हो । जसका लागि कुल १ लाख ४० हजार रुपैयाँ खर्च भएको छ । उहाँले चालु आर्थिक वर्षमा ६५ जना परिवारको बिमा गरिदिने भनेपनि नागरिकको उपस्थिति नहुँदा थोरै परिवार भएको हो ।
गाउँपालिकाबाट अध्यक्ष कार्कीले मासिक रुपमा ३३ हजार १ सय ६५ रुपैयाँ सेवा सुविधा प्राप्त गर्नुहुन्छ । यस वर्षको माघ महिनासम्ममा अध्यक्ष कार्कीले बुझेको २ लाख ३२ हजार १ सय ५५ रुपैयाँ सेवा सुविधाबाट नागरिकको बिमा गरिदिनुभएको हो । यसका साथै उहाँले गाउँपालिकाका विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदा प्राप्त भत्ताको रकम समेत सामाजिक सेवामा खर्च गर्ने गर्नुभएको छ ।
निर्वाचनका समयमा मतदाता समक्ष पुग्दा गरेको प्रतिबद्धता अनुसार आफ्नो सेवा सुविधा गाउँपालिकाको सामाजिक हितमा खर्च गर्ने गरेको अध्यक्ष कार्कीको भनाइ छ । जिल्लाका अतिपय स्थानीय तहका प्रमुखहरुले निर्वाचनका समयमा सेवा सुविधा नलिने घोषणा गर्दै हिडेको भनेपनि लिइरहेको अवस्थामा रिब्दीकोट गाउँपालिका अध्यक्ष कार्की इमान्दारिता देखाउनुभएको छ ।
गएको आर्थिक वर्षमा अध्यक्ष कार्कीले मासिक सेवा सुविधा वापत ४ लाख ३१ हजार १ सय ४५ रुपैयाँ र बैठक तथा अन्य कार्यक्रमको करिब १ लाख ७ हजार रुपैयाँ गरी ५ लाख ३८ हजार १ सय ४५ रुपौयाँ प्राप्त गरेको बताउनुभयो ।
सो रकम गाउँपालिकाले सुरु गरेको म बनाउँछु मेरो रिब्दीकोट अभियान अन्तरगत हार्थोक छहरा सडक खण्ड र्जीण भएकाले नागरिकले आवत जावतमा पाएको सास्तीको अन्त्यका लागि गिटी र मिस्कट व्यवस्थापनमा खर्च गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । उहाँले यसका साथै गत वर्ष विपन्न परिवारको मृत्यु संस्कारको लागि घाट र काजकिरियामा सहयोग, गाउँपालिका भित्रका नागरिकको उपचारमा सहयोग, अशक्त नागरिकलाई सहयोग उपलब्ध गराएको बताउनुभयो ।
बतासेदेखि फेकजाने सडक निर्माण कार्यमा आर्थिक अभाव हुँदा विकास निर्माणमा समेत सहयोग उपलब्ध गराएको अध्यक्ष कार्कीको भनाइ छ । यसका साथै विभिन्न संघ संस्था, युवा क्लबहरुलाई खेदकुद तथा अन्य गतिविधिका लागि समेत सहयोग गरिएको उहाँले बताउनुभयो । अध्यक्ष कार्कीले गाउँपालिकाको विभिन्न कार्यसम्पादन नियमसंगत रुपमा प्राप्त हुने भत्ता सुविधा समेत नलिने गरेको बताउनुभयो । उहाँले पाँच वर्ष जनताको सेवा र रिब्दीकोटको समृद्धिमा केन्द्रीत रहेर काम गरिने समेत बताउनुभयो ।