
पाल्पा । तानसेन ९ नं. वडाको तिन्टीआँपमा किसानो कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ । “कृषि उत्पादन बढाऔं परनिर्भरताको अन्त गरौं” भन्ने नाराका साथ दोस्रो कृषि मेला प्रर्दशनी भएको हो ।
मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा तानसेन नगरपालिका वडा नं ९ वडाको प्रवद्र्धन र अन्य केहि संघसंस्थाको सहयोगमा कृषि मेला भएको हो । जसमा तानसेन नगरपालिकाले भने आर्थिक सहयोग गरेको छैन । भर्खरै तानसेन टुंडिखेलमा कृषि मेलाका नाममा लाखौ रकम खर्च गरेको नगरपालिकाले खास कृषकको मेलामा सहयोग नगरेको आयोजकको भनाइ छ ।
मेलामा किसानले उत्पादन गरेका विभिन्न कृषि उपज सम्बन्धी स्टलमा प्रदर्शनीमा राखिएको थियो । जसमा खाद्यान्न, तरकारी , फलफूल , दलहन , तिलहनका सामाग्री, केरा, तरुल, फर्सी, मकै, धान, पिँडालु, विभिन्न प्रजातिका विरुवा, घरेलु कृषि औजार प्रदर्शनमा राखीएको थियो ।
मेलामा पुग्नुभएका पाल्पा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले कृषि प्रदर्शनीले किसानको श्रमलाई सम्मान गर्न मद्दत पु¥याउने बताउनुभयो । उहाँले किसानले आफूले उत्पादन गरेको वस्तुको उचित मूल्य प्राप्त गर्नका लागि यस प्रकारका कार्याक्रम आवश्यक रहेको बताउनुभयो । कृषि क्षेत्रमा मदनपोखराले देशमै भिन्न पहिचान बनाउन सफल रहेको बताउँदै प्रतिनिधिसभा सदस्य गैरेले नेपालको कृषि आन्दोलन मदनपोखराबाटै सुरु भएको स्मरण गराउनुभयो । पछिल्लो समय किसानले भोग्नु परेको वन्यजन्तुबाट हुँने क्षति र अन्य विषयमा आफूले निरन्तर संसदमा आवाज उठाउर्दै आएको बताउनुभयो ।
पूर्व मन्त्री सोमप्रसाद पाण्डेले मदनपोखरावासीले कृषि क्षेत्रमा गरेको लगानी, परिश्रमले गर्दा नै आजको मदनपोखरा परिचित भएको बताउनुभयो । उहाँले कृषकहरुको उत्साह थप्न र दुखसुखमा आफू सधैव साथमा रहेको समेत बताउनुभयो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले कृषि मेलाले कृषकहरुलाई प्रोत्सहान गर्ने बताउनुभयो । मिहेनत गरेर उत्पादन गरेको कृषि उपज कृषकको आफ्नो पौरख भएकोले प्रदर्शनीले थप उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो ।
किसानको मेहनतलाई सम्मान गर्न र थप उत्साहित बनाउन मेला आयोजना गर्न वडाले बजेट सहित आवश्यक कार्यमा सहजीकरण गरेको वडाध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । उहाँले मेहनती, परिश्रमी, स्वालम्बी र पौरखी मदनपोखराका किसानको पौरख देशभर फैलाउन, अरुलाई कृषि कर्ममा विश्वास जगाउन र स्थानीय सरकारलाई कृषि प्रदर्शनी बार बुझाउन मेला आयोजना गरिएको बताउनुभयो । मेलाका अवसरमा मदनपोखरामा कृषि क्षेत्रमा अमूल्य योगदान पु¥याउनु भएका ४ जना कृषकहरुलाई सम्मान समेत गरिएको छ । जसमा एकप्रसाद भण्डारी, धुव्रप्रसाद भण्डारी, इन्द्रप्रसाद पौडयाल र रोम बहादुर रानालाई सम्मान गरिएको हो ।
मेलामा प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषि यन्त्र उपकरण, बीउविजन, नर्सरी विरुवा प्रदर्शनी तथा विक्री वितरण स्टल व्यवस्था गरिएको मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम घिमिरेले बताउनुभयो ।
किसानको कृषि कर्मलाई किसानकै प्रत्यक्ष सहभागीतमा कृषि प्रदर्शनीमा जिल्ला संमन्वय समिति पाल्पाका उप प्रमुख काशिका गैरे, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, माथागढी गाँउपालिका अध्यक्ष यम बहादुर चिदी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रिखीराम रानलगायतको उपस्थिति रहेको थियो । मेलामा टोल विकास समूहहरुको झाँकी प्रदर्शन, साँस्कृतिक कार्यक्रम तथा कलाकार पशुपति शर्माले प्रस्तुति राख्नुभएको सहकारीका सचिव छविलाल भट्टराईले जानकारी दिनुभयो ।







