
पाल्पा । नेकपा एमाले तानसेन नगर कमिटीले आफ्ना पार्टी सदस्यहरुको परीक्षा लिने भएको छ ।
नगर कमिटीले चैत्र ५ गते सोमबार परीक्षा लिने तयारी गरेको छ । जसका लागि केन्द्राध्यक्ष र केन्द्र तोकेको छ । पार्टी सदस्यहरुको ज्ञानको पुनरताजकी र क्षमता बढाउने अभियान अन्तरगत १४ वटै वडामा संगठित सदस्यहरुको उपस्थितिमा परीक्षा सञ्चालन भएको एमाले तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको निर्णय अनुसार परीक्षामा १५ वटा बहुवैकल्पिक प्रश्न सोधिने छ । परिक्षार्थीले आफूलाई सहि लागेको उत्तरमा टिक लगाउनुपर्ने छ । लुम्बिनी प्रदेश कमिटीले तयार पारेको प्रश्न नेकपा एमाले र समसामयिक विषयसंग सम्बन्धित हुने अध्यक्ष आत्रेयले बताउनुभयो । नेकपा एमालेका थप जिम्मेवारीमा जान अनिवार्यरुपमा परीक्षामा सहभागी भएको हुनुपर्ने व्यवस्था गरिएको छ । आफ्नो वडा भन्दा बाहिर रहेका संगठित सदस्यको अनलाईनबाट परीक्षा सञ्चालन गर्ने तयारी रहेको अध्यक्ष आत्रेयको भनाइ छ ।
परीक्षा सञ्चालनको लागि विहीबार नगर कमिटी पाल्पाको पदाधिकारी बैठक बसेर प्रत्येक वडामा जिल्ला कमिटी सदस्यहरुबाट केन्द्राध्यक्ष, सहजकर्ता र परीक्षा केन्द्र तोकेको छ । जसमा केन्द्राध्यक्षले वडा कमिटी अध्यक्ष र सहजकर्ता संग समन्वय गरी परिक्षा सञ्चालन गर्ने छन् । बैठकमा लुम्बिनी प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज नारायणी शर्मा र जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर इन्चार्ज दामोदर घिमिरेले लामो समय पार्टीमा लागेर समाज रुपान्तरणको लागि काम गरिरहनुभएका संगठित सदस्यहरु परिक्षामा सहभागी हुँदा थप ज्ञान हासिल हुने र पार्टी अझ चलायमान हुने बताउनुभयो ।
बैठकले तानसेन नगरपालिका भित्रका कुखुरा र बाख्रा पालक किसानहरुको लागी चैत्र ९ गते शुक्रबार तानसेनमा विशेषज्ञ पशु चिकित्सक र वित्तीयसंस्थाबाट कुखुरा र बाख्रा पाल्ने तरिका लगायतका व्यावसायिक योजनाका विषयमा विशेष तालिम सञ्चालन गर्ने निर्णय समेत गरेको नगर सचिव महेशलाल शाक्यले जानकारी दिनुभयो । उहाँले सदस्यहरुलाई उद्यमशीलता वृद्धि गर्न पेशा गरिरहेका वा गर्ने योजना बनाएका सदस्यहरुलाई तालिममा सहभागिता गराइने बताउनुभयो । यसका साथै बैठकले तानसेन नगरकमिटीको पूर्ण बैठक आउँदो चैत्र १७ गते शनिबार रानीमहलमा बस्ने निर्णय गरेको एमाले तानसेन नगर कमिटीले जनाएको छ ।