पाल्पा । तानसेन ९ दमकडामा दृष्टिविहिनहरुका बिच कबड्डी प्रतियोगिता सम्पन्न भएको छ । दमकडा नमुना माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीका बिचमा प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा विवश कुमालको निलो जर्सी र जगतबहादुर कुँवरको रातो जर्सीको नेतृत्वमा भएको खेलमा जगतबहादुर कुँवरको रातो जर्सीको समूह विजयी भएको छ । यस्तैगरी विवश कुमालको निलो जर्सीको समूह उपविजेता भएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
विद्यालयस्तरमा अध्ययन गर्दा शारीरिक शिक्षा विषयमा दृष्टिविहिन विद्यार्थीहरुले पनि कबड्डी खेल बारे अध्ययन गर्नुपर्ने भएपनि सैदान्तिक ज्ञान मात्र हुने प्रयोगात्मक खेल नभएको अवस्थामा नमुनाका रुपमा प्रतियोगिता सञ्चालन गरिएको प्रधानाध्यापक सापाकोटाको भनाइ छ । उहाँले नेपालमै दृष्टिविहिनहरुका लागि कबड्डी खेलको नियम नभएकोले आफूहरुले केहि नियम समायोजन गरी विश्वमै पहिलो पटक खेल खेलाइएको बताउनुभयो ।
सोधकर्ता वाइपी आचार्यको दृष्टिविहिन बालवालिमा शारीरिक शिक्षामा पहुँचको अवस्था, सहजता र असहजता बारे विद्यावारिधिको अध्ययनलाई मद्दत गर्ने उद्देश्यले पहिलो पटक कबड्डी प्रतियोगिता आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभयो । उहाँले भिन्न उमेर समूहका दृष्टिविहिन विद्यार्थीहरुको सहभागितामा गरिएको प्रतियोगिताले वातावरण निर्माण गर्न सके दृष्टिविहिनहरुले पनि अन्य खेलजस्तै कबड्डी पनि खेल्न सक्ने अनुभव प्राप्त भएको बताउनुभयो ।
सोधकर्ता आचार्यले विद्यालयस्तरमा सबैले खेल्नुपर्ने खेलकुद भएपनि दृष्टिविहिन बालबालिकाले देशभरी नै खेल्ने अवस्था नभएकोले दृष्टिविहिनहरुलाई पनि कबड्डी खेलमा कसरी जोडन सकिन्छ भन्ने छलफल पछि प्रतियोगिता गर्न सफल भएको बताउनुभयो । उहाँले प्रतियोगिता आयोजना गर्दा सम्म कबड्डी खेलको विकास दृष्टिविहिनहरुमा कसरी गर्न सकिन्छ भनेर लामो अभ्यास गरिएको बताउनुभयो । उहाँले उनीहरुका लागि छुटै नियम नभएको हुँदा प्रतियोगिता सञ्चालनमा आफूहरुले नयाँ नियम स्थापित गरेको शोधकर्ता आचार्यको बताउनुभयो । उहाँले अगामी दिनमा कबड्डी प्रतियोगितालाई दमकडा माध्यमिक विद्यालयमा मात्र सीमित नराखेर विश्वव्यापी रुपमा गर्ने गरी पहल अगाडि बढाउने बताउनुभयो । प्राप्त सिकाईलाई लिखित दस्ताबेजका रुपमा तयार गरेर दृष्टिविहिनको कबड्डी खेलमा सहभागिता हुने र ओलम्पिक, एशिएन खेलहरु खेल्ने अवस्था निर्माणमा पहल कदमी दिने सोधकर्ता आचार्यको भनाइ छ ।