रिब्दीकोटका श्रमिकलाई सचेतना र सम्मान

पाल्पा । रिब्दीकोट गाउँपालिकाले दैनिक रूपमा ज्याला मजदुर गरेर जीविका चलाउँदै आएका ६८ श्रमिकलाई सचेतना सहित सम्मान गरेको छ ।

विशेष गरी श्रम गर्ने बचत नगर्ने, स्वास्थ्यमा ध्यान नदिँदा अकालमै मृत्युवरण गर्नुपर्ने जस्ता समस्याको अन्त्य गर्ने र श्रमिकलाई गुणस्तरीय जीवन निर्वाहको अवस्था सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गएको बिहीबार गाउँपालिका भित्र रहेका आठ वटै वडाका श्रमिकहरुलाई गाउँपालिकामा ल्याएर सम्मान गरिएको हो । उनीहरुलाई पूmलमाला, पोसाक र नगदसहित सम्मान गरिएको हो । कार्यक्रममा १ नं. वडा ख्याहाका १०, २ नं. वडा देउरालीका २०, ३ नं. वडा खस्यौलीका १२, ४ नं. वडा भैरवस्थानका ८, ५ नं. वडा कुसुमखोलाका ३, ६ नं. वडा ठिमुरेका ७, ७ नं. वडा पालुङमैनादीका ४ र ८ नं. वडा फेकका ४ जना रहेका छन् ।

गाउँपालिका भित्र बसोबास गर्ने जसले दैनिक रूपमा ज्याला मजदुर गरेर परिवार पाल्ने जिम्मेवारी लिइरहनुभएका विपन्न वर्गका श्रमिकहरुलाई आफ्नो जिम्मेवारी र स्थानीय सरकारको भूमिकाका विषयमा जानकारी गराउने गरी कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले स्थानीय तहको सरकारले नागरिकको सहज जीवनशैलीसंगै विकास, समृद्धिको नेतृत्व गर्नुपर्ने भएकोले सबैभन्दा पहिला श्रमिक वर्गलाई प्राथमिकता दिएर कार्यक्रम गरिएको बताउनुभयो । गाउँपालिका भित्र श्रमिक वर्गमा देखिएको कमाउने र रमाउने परिस्थितिले परिवार र समाजमा नकरात्मक असर पर्नुका साथै स्वयम्ले अल्पआयुमै ज्यान गुमाउन परेको घटनालाई मध्येनजर गरेर समयमै श्रमिकहरुलाई सचेत बनाउन सचेतना तथा सम्मान कार्यक्रम गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । उहाँले नागरिकको आवश्यकता अनुसार ठूला ठूला विकासका काम गर्न नसकिए पनि आफ्ना नागरिकलाई पूरा आयु बाँच्न अपनाउनुपर्ने जीवनशैलीमा सहयोग गर्नका लागि गाउँपालिकाले अभिभावकत्व लिन यो कार्यक्रम गरिएको बताउनुभयो ।

श्रमिकको आत्मसम्मान बढाएर काममा उत्साह थप्न कार्यक्रम सहयोगी बन्ने गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताउनुभयो । उहाँले गाउँमा बसेर डकर्मी, सिकर्मीका साथै अन्य विविध क्षेत्रमा श्रम गर्नेहरुलाई श्रमप्रति विश्वास जगाउँदै जिम्मेवार भएर सुखी जीवन बिताउने वातावरण निर्माणमा गाउँपालिका लागि परेको बताउनुभयो ।

स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । सबै जनाताको सुख समृद्धिका लागि सरकारले ध्यान दिनुपर्छ भन्ने सोँचका साथ श्रमिक सम्मान कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत मणीप्रसाद खनालले बताउनुभयो । उहाँले राम्रो व्यवहार भएका श्रमिकलाई उत्साह थप्ने र अन्य श्रमिकहरुलाई श्रम प्रतिको आस्था जगाउने गरी पृथम कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रमले श्रमिकहरुलाई आफ्नो व्यवहारले परिवार, छिमेकमा पारेको असर बारे जानकारी गराइएको थियो । साथै सहभागी श्रमिकहरुले गतल काम विस्तारै छाड्ने प्रतिबद्धता व्यक्त गरेको प्रमुख प्रशासकीय अधिकृत खनालले बताउनुभयो ।

सचेतना तथा सम्मान कार्यक्रममा श्रमबाट प्राप्त मूल्यको सही प्रयोग, बचत गर्ने बानीको विकास, स्वास्थ्यको ख्याल तथा प्रधानमन्त्री रोजगार कार्यक्रम र गाउँपालिकाको रोजगारका विषयमा खेल्ने भूमिकाका विषयमा रोजगार संयोजक दुर्गा थापा पछाई, पत्रकार तथा प्रशिक्षक रामप्रसाद न्यौपाने लगायतले सहजीकरण गर्नुभएको गाउँपालिकाका अधिकृत रुकलाल भट्टराईले जानकारी दिनुभयो ।

सम्बन्धित खवर