पाल्पा । हाम्रो समस्या हाम्रै समाधान : मेलमिलाप भन्ने नाराका साथ रामपुर नगरपालिकाको आयोजनामा भएको आठ दिने तालिम आइतबार सकिएको छ ।
वडास्तरमा हुने विभिन्न विवाद निरुपणमा सहजीकरणको भूमिका निर्वाह गर्न मेलमिलापकर्तालाई तालिम दिइएको हो । नगरपालिका भित्रका १० वटै वडाबाट सिफारिस भई आएका मेलमिलापकर्ता र जनप्रतिनिधिहरुलाई मेलमिलाप सम्बन्धी तालिम दिइएको नगरपालिकाले जनाएको छ ।
मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको प्रक्रियाका आधारभूत चरण, सामाजिक न्याय, मानव अधिकार, लैंगिक समानता, सामाजिक समावेशीकरण, महिला अधिकार लगायतका विषयमा जानकारी गराइएको थियो ।
तालिम समापनका अवसरमा मेलमिलापकर्तालाई प्रमाण पत्र वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले वडाका सबै नागरिकलाई न्यायको अनुभूति दिने गरी मेलमिलापको कार्य सम्पादन गर्न आग्रह गर्नु भयो । उहाँले हरेक नागरिकले न्याय पाउँछ भन्ने ग्यारेण्टी हुने गरी काम गर्नु पर्ने बताउनुभयो । साथै विचार र आस्था फरक भए पनि मेलमिलाप र न्याय सम्पादन इमान्दारिताका साथ गर्नु पर्ने नगर प्रमुख थापाको भनाइ थियो ।
कार्यक्रममा रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापाले इमान्दारिताका साथ हरेक विवादलाई मेलमिलाप मार्फत निरुपण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मेलमिलापकर्ताको क्षेत्राधिकार भित्र रहेर गाँउ टोलमा हुने विवाद र मुद्दालाई समाधान गर्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले निष्पक्ष रुपमा न्याय सम्पादन गरेर मेलमिलापयुक्त नगर बनाउनु पर्नेमा जोड दिनुभयो । यस्तै रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष कपिलबहादुर खाँणले तालिमबाट सैद्धान्तिक उपलब्धि प्राप्त भएकोले अब गाँउ समाजमा गएर सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
यस्तै तालिमका प्रशिक्षक हरि प्रसाद पण्डितले तालिममा सिकेका कुरा तालिममा मात्र सीमित नराखी व्यक्तिगत र सामाजिक जीवनमा प्रयोग गर्न आग्रह गर्नुभयो । नगरपालिका भित्रका ३० जना मेलमिलापकर्ताको सहभागिता रहेको न्यायिक समिति सचिवालय सचिव पार्वती परियारले जानकारी दिनुभयो ।