पूर्वखोलामा मोतियाविन्दुको शल्यक्रिया शिविर

पाल्पा । पूर्वखोला गाउँपालिकामा आँखाको मोतियाविन्दुको शल्यक्रिया शिविर सम्पन्न भएको छ । गएको फागुन ११ गतेदेखि १७ गतेसम्म चलेको निशुल्क आँखा शिविरमा भेटिएका मोटियाविन्दुका विरामीका लागि लक्षित गरेर दुई दिनसम्म शल्यक्रिया शिविर राखिएको गाउँपालिकाले जनाएको छ । फागुन १९ र २० गते चलेको शिविरमा ६४ जनाले शल्यक्रियाको सेवा लिएका छन् ।

गाउँपालिकाले नागरिकको आँखामा हुनसक्ने विभिन्न समस्या समाधानका लागि पाल्पा लायन्स लाकौल आँखा अस्पतालको प्राविधिक सहयोगमा चलाइएको शिविरमा करिब एक हजार १७ जनाको आँखा जाँच गरिएको थियो । जसमा मोतियाविन्दु भएका ८२ जना विरामी फेला परेका थिए । उनीहरुको सहजताका लागि ३ नंं. वडा रिङनेरह स्वास्थ्य चाैकीमा शल्यक्रिया शिविर आयोजना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो ।

गाउँपालिका भित्रका प्रत्यक वडामा सञ्चालन गरिएको निशुल्क आँखा शिविरमा वडा नं १ सिलुवामा १ सय ९१ जनाको आँखा परीक्षण गर्दा २१ जनामा मोतियाविन्दु देखिएको थियो । यस्तै वडा नं २ जल्पामा भएको शिविरमा १ सय ७० जनाको परीक्षण गर्दा १४ जनामा, वडा नं ३ रिङनेरहमा २ सय ७५ जनाको जाँच गर्दा ९ जनामा र वडा नं. ४ देविनगरमा १ सय १४ जनाको आँखा परीक्षण गर्दा १४ जनामा, वडा नं ५ को बीरकोटमा १ सय ९३ जनाको परीक्षण गर्दा १६ जनामा र वडा नं ६ हेक्लाङमा ९४ जनाको परीक्षण गर्दा ११ जनामा मोतियाविन्दुको समस्या देखिएको थियो ।

पैसाको अभावले गर्दा आँखामा देखिने विभिन्न खाले समस्या बारे थाहा नहुँने र दृष्टिमा पर्नसक्ने गम्भीर असरबाट समयमै आफ्ना नागरिकलाई सुरक्षित राख्न शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । उहाँले शिविरमा निशुल्क रुपमा चस्मा तथा औषधि समेत वितरण गरिएको जानकारी दिनुभयो । गाउँपालिका नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु गर्दै आएको अध्यक्ष थापाको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय