पाल्पा । “उत्पादनमुखी प्राविधिक शिक्षा, आजको आवश्यकता” भन्ने मुख्य नाराका साथ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को ३६ औँ तथा मदनपोखरा बहुप्राविधिक शिक्षालयको पाँचौ स्थापना दिवस मनाइएको छ ।
तानसेन ९ दमकडामा शिक्षालयले फागुन १३ गतेदेखि १७ गतेसम्म क्रिकेट, फुटवल, भलिवल, टेवल टेनिस, रिले, ब्याडमिन्टन, हाजिरीजवाफ वक्तृत्वकला तथा वाद विवाद जस्ता कार्यक्रम अयोजना गरेर स्थापना दिवस मनाएको हो । शुक्रबार भएको स्थापना दिवसको औपचारिक कार्यक्रममा खेलकुद तथा साहित्य कार्यक्रममा पहिला, दोस्रो स्थान प्राप्त गर्न सफल प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र सहित पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी आन्नद काप्mलेले प्राविधिक शिक्षा हासिल गरेको जनशक्ति विदेशमा भन्दा स्वदेशमै स्वरोजगार बन्नतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले अहिलेको नयाँ पिढीमा विदेश यात्राको मोह बढि देखिन्छ तर विदेशमा पनि सजलो र सहज नभएको भन्दै आफूले सिकेका ज्ञान सीपको स्वदेशमै प्रयोग गर्न सुझाउनुभयो ।
तानसेन ९ का वडाध्यक्ष राजेश कुमार अर्यालले अहिलेको समय प्रविधिको रहको बताउनुभयो । उहाँले प्रविधिले जीवनलाई सहज बनाएको बताउँदै विभिन्न जिल्लाबाट शिक्षालयमा अध्ययन गर्न आएका प्रशिक्षार्थीहरुलाई लगनशील भएर अध्ययनको काम पूरा गर्न आग्रह गर्नु भयो ।
यस्तैगरी कार्यक्रममा दमकडा माध्यामिक विद्यालयका प्रध्यानाध्यापक मोहन प्रसाद सापकोटा, शारदा माध्यामिक विद्यालय मदनपोखराका प्रध्यानाध्यापक खेमराज न्यौपने, रिभर भ्यालि वोर्डिङ स्कूलको प्रिन्सिपल मिन प्रसाद बन्जाडे, माउण्ट भ्याली वोर्डिङ स्कूलको प्रिन्सिपल प्रेमराज खराल, मदनपोखरा स्वास्थ्य चौकीका प्रमुख झपेन्द्र घिमिरेलगायतले शिक्षालयलाई थप प्रगतिको शुभकामना व्यक्त गर्दै प्राविधिक शिक्षाले स्वरोजगार बन्न सहज हुने बताउनुभयो । उहाँहरुले सीप भए आर्थिक आयआर्जनमा समस्या नहुँने बताउनुभयो ।
पाल्पामा २०७५ सालदेखि डिप्लोमा तह तीन वर्षे कृषि बाली विज्ञान, कृषि पशु विज्ञान र सूचना प्रविधि विषय पढाई हुदै आएको मदनपोखरा बहुप्राविधिक शिक्षालय दमकडाको स्थापना दिवस कार्यक्रममा शिक्षालयका शिक्षालय प्रमुख गोविन्द शर्माको अध्यक्षता, बाली विज्ञान कार्यक्रम संयोजक गणेशभाट क्षेत्रीको स्वगत तथा शिक्षालयका प्रशासकीय सहायक छविलाल भट्टराईको सञ्चालनमा चलेको थियो ।