पाल्पा । पूर्वखोलामा गाउँपालिकामा सञ्चालन भएको निशुल्क आँखा शिविरमा ७ सय ४९ जनाको परीक्षण गर्दा ५८ जनामा मोतियाविन्दु समस्या फेला परेको छ ।
गाउँपालिकाले नागरिकको आखामा हुनसक्ने विभिन्न समस्या समाधानका लागि नेपाल नेत्र ज्योति संघ पाल्पा लायन्स लाकौल आँखा अस्पतालको प्राविधिक सहयोगमा गएको फागुन ११ गतेदेखि सुरु गरेको शिविर फागुन १७ गतेसम्म सञ्चालन हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो ।
गाउँपलिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार अहिलेसम्म चार वडामा आयोजना गरिएको शिविरमा ७ सय ४९ जनाले जनाको आँखा जाँच भएको छ । त्यसमध्ये ४४ जनामा मोतियाविन्दुको समस्या देखिएको छ ।
उहाँका अनुसार वडा नं १ सिलुवामा १ सय ९१ जनाको आँखा परीक्षण गर्दा २१ जनामा मोतियाविन्दु देखिएको बताउनुभयो । यस्तै वडा नं २ जल्पामा भएको शिविरमा १ सय ७० जनाको परीक्षण गर्दा १४ जना, वडा नं ३ रिङनेरहमा २ सय ७५ जनाको जाँच गर्दा ९ जनामा र वडा नं. ४ देविनगरमा १ सय १४ जनाको आखा परीक्षण गर्दा १४ जनामा मोतियाविन्दु देखिएको बताउनुभयो ।
बाकी दुई वडामा बुधबार वडा नं ५ को बीरकोट र विहीबार वडा नं ६ हेकलाङमा शिविर चल्ने गाउँपालिकाले जनाएको छ । शिविरमा भेटिएका मोतियाविन्दु भएकाहरुका लागि आगामी फागुन १९ गते रिङनेरह स्वास्थ्य चौकीमा निशुल्क शल्यक्रिया शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । उहाँले शिविरमा निशुल्क रुपमा चस्मा तथा औषधि समेत वितरण गरिएको छ । गाउँपालिका नागरिकको स्वास्थ्य प्रति गम्भीर रहेकोले स्वास्थ्य उपचार सेवाको विषयलाई प्राथमिकतामा राखेर काम गर्दै आएको समेत बताउनुभयो ।