
पाल्पा । नेतृत्व मिडिया प्रालि पाल्पाद्धारा प्रकाशित नेतृत्व त्रैमासिक पत्रिकाको नयाँ अंक बजारमा आएको छ । वर्ष २६ अंक ४ को पूर्वखोलाको जल्पाको ढोलिमारामा सार्वजनिक तथा परिचर्चा कार्यक्रम सहित नयाँ अंक बजारमा ल्याइएको हो ।
पत्रिकाको आवरण पृष्ठ तथा प्रस्तुत सामग्री माथि प्रकाश पार्दै डाक्टर टंकप्रसाद पन्थले पत्रिकामा प्रस्तुत विविध सामग्रीले नेतृत्वको चौथो अंक सबल रूपमा आएको उल्लेख गर्नुभयो । नेतृत्वले निराशामा आशा जगाउने महत्वपूर्ण काम गरेको भन्दै उहाँले समाजमा योगदान गरेका पात्र र प्रवृतिलाई मुखरित गर्दै आएको बताउनुभयो ।
पत्रिका लोकार्पण कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले नेतृत्व पत्रिकाको निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेतृत्वले असल कर्म गरेका पात्रहरूको योगदानका कुरा प्रकाशन सामग्रीका रुपमा समावेश गर्ने जस्तो अनुकरणीय काम गरेकोमा प्रशंसा समेत गर्नुभयो । दशकौँको योगदानबाट खारिएका व्यक्तिको अनुभव तथा विकास निर्माणका कार्यलाई समेटिएको पत्रिका पठनिय रहेको प्रमुख खनालको भनाइ थियो ।
पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादर थापाले नेतृत्व पत्रिकाले सकारात्मक सन्देश दिन सफल भएको बताउनुभयो । उहाँले पठन संस्कृतिको विकास गराउनु सवैको दायित्व रहेको बताउँदै पत्रिकामा स्थानीय पूर्वाधार निर्माण र भुँइ मान्छेका कुरा अधिकतम समेट्नुपर्ने बताउनुभयो । लोपोन्मुख संस्कृतिको संरक्षण हुनेगरी सत्य तथ्यमा आधारित सामग्री प्रकाशन गर्नुपर्ने सुझाव अध्यक्ष थापाले राख्नुभयो ।
रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले नेतृत्व पत्रिकाको नाम नै गम्भीर रहेको बताउँदै समाज रूपान्तरण र सबलिकरणमा सहयोग पुग्ने सूचना प्रकाशनमा ध्यान दिनुपर्ने बताउनुभयो । आफूलाई पनि पात्रको रूपमा चयन गरेकोमा धन्यवाद दिँदै अध्यक्ष कार्कीले नागरिकको सेवामा अपेक्षा गरेको जति काम नभए पनि क्रमिक रुपमा परिवर्तन गर्न प्रयास गरिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले नेतृत्वको प्रकाशनमा निरन्तरता दिनुभएकोमा सम्पादक गोविन्द भट्टराईको प्रशंसा गर्नुभयो । उहाँले अहिल पत्रिका प्रकाशनमा धेरै खाले चुनौती रहेको समयमा कठिनाई भूलेर निरन्तर काम गर्नु आफैमा सकारात्मक भएको समेत बताउनुभयो ।
नेतृत्व सार्वजनिक कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भागीरथी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ, प्रेस युनियन नेपालका केन्द्रीय उपाध्यक्ष माधवप्रसाद अर्याल, प्रेस चौतारी नेपाल ,पाल्पाका सचिवालय सदस्य बिजय कुमार बौडेललगायतले पत्रिकाको नयाँ अंकका बारेमा चर्चा परिचर्चा गर्नुभएको थियो । सोहि अवसरमा नेतृत्वमा लेख लेख्नुभएका हरिप्रसाद न्यौपानेलाई सम्मान समेत गरिएको थियो ।
नेतृत्व त्रैमासिकका अध्यक्ष तथा सम्पादक गोविन्द भट्टराईले पत्रिकालाई पाठकको रुचि अनुसारको सामग्री प्रस्तुत गर्न आफू खटेको बताउनुभयो । उहाँले यो अंक सार्वजनिक गर्नका लागि समन्वय र आतिथ्यताको लागि पूर्वखोला गाउँपालिकालाई धन्यवाद समेत व्यक्त गर्नुभयो । कार्यक्रम पूर्वखोला गाउँपालिका २ नं. वडा, जल्पाका वडाध्यक्ष नीरबहादुर सारूको अध्यक्षतामा चलेको थियो ।