पाल्पा । धार्मिक गुरु तत्वदर्शी ब्रहमनिष्ट सन्त शिरोमणी स्वामी लोकानन्द महाराजले तानसेन – ५ को ढाँडकुटीमा रहेको नर्मदेश्वर शिवलिङ्गको दर्शन गर्नुभएको छ । वि.स १९४५ मा स्थापना भएको ढाँडकुटीमा १९६८ मा विधिवत रुपमा नर्मदेश्वर शिवधाम स्थापना गरी नियमित रुपमा पूजा पाठ हुँदै आएको छ । स्वामीले नर्मदेश्वर शिवको दर्शन गरेपछि धार्मिक प्रवचन समेत दिनुभएको थियो । उहाँले संसारमा मानिसले सतकर्मको चाहाना गरेमा इश्वरले सफल बनाउने भएकाले भव्य शिवालयको मन्दिर बनाउन भक्तजनहरुलाई अनुरोध गर्नुभयो ।
ऐतिहासिक एवं पुरातात्विक महत्वको ढाँडकुटीमा ५४ फिटको शिव मन्दिर स्थापना गरी सो माथि १ सय ८ किलोको नर्मदेश्वर महादेव शिवलिङ्ग स्थापना गर्नुपर्ने बताउनुभयो । देखिदा ठूलो र खर्चिलो देखिए पनि भक्तजनमा इच्छाशक्ती जागेमा काम सजिलै सम्पन्न गर्न सकिने स्वामी लोकानन्दको भनाइ थियो । उहाँले ‘भक्तजनहरुले प्रत्येक दिन आफूले गर्ने फर्जुल खर्चमा कटौती गरेरे आवश्यक रकम संकलन गर्न सकिने बताउनुभयो ।
स्वामीले बाहिर समाजमा रहँदा आ–आफ्नो ढंगले राजनीति गरे पनि मन्दिर भित्र प्रवेश गरेपछि सबैले इश्वरका भक्त भन्ने भाव राख्न सबैलाई अनुरोध गर्नुभयो । उहाँले ‘ बाहिर हुँदा राजनीति गर्नुस् विचार राख्नुस्, आ–आफ्नो काम कर्म गर्नुस् तर मन्दिर भित्र प्रवेश गरेपछि सबैले एक मात्र भाव राख्नुस् हामी इश्वरका भक्त हौं, हामी सबै एक छौं, हामीले इश्वरीय ध्यानका लागि सक्दो सहयोग गर्छाै भन्ने मनोभावनाले काम गरेमा मन्दिर निर्माणको लागि सहयोग जुट्ने लोकानन्द स्वामीले बताउनुभएको मन्दिर व्यवस्थापन समितिका सचिव विनोद घिमिरेले जानकारी दिनुभयो ।
स्थानीय समाजसेवी बाबुराम बोहोराको अगुवाईमा धार्मिक गुरु लोकानन्दलाई ढाँडकुटी शिवधाममा दर्शन तथा अवलोकन गराइएको हो । शिवधामको सोही क्षेत्रमा ३५ रोपनी र प्रभासमा १३ रोपनी गुठी जग्गा रहेको छ । मन्दिर व्यवस्थापन समितिले स्थानीयस्तरमा चन्दा रकम उठाएर १ सय ८ शिवलिङ्ग स्थापना गर्ने तयारीमा जुटेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर बोहोराले जानकारी दिनुभयो ।