दादुरा–रुबेला खोप अभियानको तयारी तीव्र

पाल्पा । पाल्पाका बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने अभियानको तयारी तीव्र रूपमा गरिएको छ । अभियानमा जिल्लाका पाँच वर्षमुनिका १७ हजार ८ सय ४५ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने तयारी गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

दादुरा–रुबेला विरुद्धको खोप लगाउने अभियान जिल्लाका दश वटा स्थानीय तहमा दुई चरणमा सञ्चालन गरिने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । आगामी फागुन १३ गतेदेखि १६ गतेसम्म पहिलो चरणमा तानसेन नगरपालिका, रिब्दीकोट बगनासकाली, रैनादेवी छहरा, माथागढी र तिनाउ गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ ।

यसै गरी फागुन २१ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने दोस्रो चरणमा रामपुर नगरपालिका, रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा अभियान सञ्चालन हुने प्रमुख डा.गिरीले बताउनुभयो । अभियान सुरु गर्नु अघि जिल्लास्तरीय सुक्ष्म रूपमा योजना बनाउने, स्वास्थ्यकर्मीहरूलाई तालिम दिने, विभिन्न सरोकारवाला सँग अन्तरक्रिया र प्रचारप्रसारको कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । दादुरा–रुबेला खोप अभियानका लागि जिल्लामा रहेका २ सय ५० वटा खोप केन्द्रहरू बढाएर २ सय ७९ वटा बनाएर खोप लगाइने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय पाल्पाका खोप कार्यक्रमका प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।

दादुरा रुबेला खोपको ९ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिकाले अनिवार्य रूपमा लगाउनुपर्ने खोप हो । दादुरा–रुबेला खोप लगाए विभिन्न रोगको संक्रमण तथा आक्रमणबाट बच्न सकिन्छ । नियमित रूपमा अन्य खोप लगाएका बालबालिकाले समेत यो अभियानमा अनिवार्य रूपमा दादुरा रुबेला खोप लगाउन डा. गिरीले आग्रह गर्नुभएको छ ।

अहिले खोप अभियानको तयारी स्वरूप स्थानीय तहहरुमा अभिमुखीकरण तथा प्रचारप्रसारको काम भैरहेको सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिनुभयो । दादुरा – रुबेला रोग लागे पछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार र जटिलताकोे उपचार गर्नुपर्दछ  । यसका साथै बिरामीलाई भिटामिन ए अनिवार्य रूपमा खुवाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

बाल मृत्युको कारण मध्ये दादुरा एक प्रमुख कारण हो । रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ  । गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भिर प्रकारको जन्मजात हुने विकला·हरू देखापर्न सक्ने डा. गिरीले बताउनुभयो । दादुरा–रुबेला रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखापर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखापर्ने उहाँको भनाइ छ ।

रोगी बालबालिकामा ज्वरो आउनु र शरीरमा राता विमीरा देखापर्नु, रुघा खोकीको लक्षण देखापर्ने गर्दछ । यस्तो प्रकारको समस्या देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार स्याहार गर्नुपर्ने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित खवर