
पाल्पा । माथागढी गाउँपालिकाको ३ नं. वडा कसेनीले शैक्षिक जागरण कार्यक्रम गरेको छ । बालबालिकालाई नियमित विद्यालय उपस्थित गराउने र बिचमै कक्षा छाड्ने समस्याको अन्त्यका लागि बाल सचेतना तथा शैक्षिक जागरण कार्यक्रम गरिएको हो ।
चालु आर्थिक वर्ष ०८०/८१ को लक्षित वर्गको मागमा आधारित कार्यक्रम अन्तरगत भएको बाल सचेतना तथा शैक्षिक जागरण कार्यक्रममा विशेष गरी शिक्षक, अभिभावक, विद्यार्थी, जनप्रतिनिधि र स्थानीय सरोकारवालाको सहभागिता गराइएको छ ।
पहिलो शैक्षिक जागरण कार्यक्रम सिद्धबाबा प्राथमिक विद्यालय माथागढी–३ अन्तर्गत ओलेसमा सम्पन्न भएको छ । कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले विकृतीका विरुद्ध बालबालिकाहरुलाई समयमै सचेत बनाउँदा उनीहरुको भविष्य सुन्दर बन्ने बताउनुभयो । उहाँले गाउँपालिका समग्र माथागढीको शैक्षिक सुधारका लागि काम गर्दै आएको समयमा वडाले शैक्षिक जागरण अभियान सञ्चालन गर्नु आफैमा प्रभावकारी भएको बताउनुभयो ।
समृद्ध र सुखी समाज निर्माण गर्न शिक्षा अपरिहार्य रहेको बताउँदै अध्यक्ष चिदीले बालबालिकालाई असल संस्कार सहितको शिक्षा समयमै दिन सक्ने वातावरण निर्माणमा हामी सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय स्थानीय तहबाट शिक्षा, स्वास्थ्य, रोजगार र सुविधाका नाममा बसाइँसराई गर्ने चलन बढेकोले यस विषयलाई ध्यानमा राखेर गाउँपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो । शिक्षामा सबै बालबालिकाको पहुँच वृद्धि गर्दै समय अनुसार बजारमा विक्ने र टिक्ने जनशक्ति उत्पादनमा आफ्ना योजना केन्द्रीत गरिरहेको अध्यक्ष चिदीको भनाइ थियो ।
कार्यक्रममा ३ नं. वडाका वडाध्यक्ष तेजबहादुर घर्तीमगरले बालबालिका भोलिका भविष्य भएकोले अहिले देखिएको चेतना र शैक्षिक जागरणको अवस्थालाई सुधार गर्न कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो । उहाँले बालबालिकालाई अहिलेको समय पढ्ने भएको र भविष्य राम्रो गराउन अध्ययन आवश्यक रहेको बुझाउनमा कार्यक्रम केन्द्रीत गरिने बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य लिला चिदी, वडा सदस्य मानबहादुर राना, वडा सचिव प्रकाश पाठक, कसेनी स्वास्थ्य चौकी प्रमुख पविसरा चिदी, वडा प्राविधिक ज्ञानेन्द्र खड्का, पशु प्राविधिक हुमबहादुर कुमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर सुर्यवंशी लगायतले नाटक सहितको सचेतना कार्यक्रमले बालबालिका र अभिभावकमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँहरुले बालबालिकालाई नियमित विद्यालय पठाउने काममा अभिभावक र स्थानीय सरोकारवालाहरुको महत्वपूर्ण भूमिका हुने भएकोले कार्यक्रम सफल हुने विश्वास राख्नुभयो । विद्यार्थी, शिक्षक, अभिभावक तथा ओलेस टोलबासीको सहभागितामा भएको कार्यक्रममा वडा कार्यालय सहायक सुकमाया दर्जीले सहजीकरण गर्नुभएको थियो ।
यस आर्थिक वर्षमा ३ नं. वडा भित्र रहेका ५ वटा सामुदायिक विद्यालयमा करिब ४ लाख खर्च गरेर कार्यक्रम गरिने छ । कार्यक्रमले माथागढी ३ मा रहेको विद्यालय पढ्न नजाने, गएका विद्यार्थीहरुले बिचमै छाड्ने, अध्ययन नगरी घरमै बस्दा अन्य नकारात्मक गतिविधिमा सहभागी हुन पुग्ने र भविष्य नै अन्धकारमा धकेल्ने अवस्थाको अन्त्य गरी नियमित विद्यालय गएर उज्ज्वल भविष्य निर्माणमा सहयोगी बन्ने अवस्था निर्माण हुने वडाध्यक्ष घर्तीमगरले विश्वास व्यक्त गर्नुभयो ।