
पाल्पा । फागुन १५ गते मनाइने ४२ औं मगर एकता दिवसका अवसरमा माथागढी ३ कसेनी सराई फूलबारीमा विशेष कार्यक्रम हुने भएको छ । नेपाल मगर संघ माथागढी गाउँ समिति पाल्पाको आयोजना र माथागढी गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम गर्न लागिएको हो । कार्यक्रम बारे तानसेनमा पत्रकार सम्मेलन गरी दिवस मनाउने तयारी गरिएको संघले जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष भेगराज थापामगरले लुम्बिनी प्रदेशको एतिहासिक, धार्मिक, पर्यटकीय दृष्टिले रमणीय ठाउँ माथागढी ३ को कसेनी सराई फूलबारीको लखन पार्कमा कार्यक्रम गरेर मगर दिवस मनाइने बताउनुभयो । उहाँले “मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माण हाम्रो प्रतिवद्धता, ४२ औ स्थापना दिवसमा भाषिक–साँस्कृतिक विविधतावियको सद्भावपूर्ण ऐक्यवद्धता” भन्ने नाराका साथ दिवस मनाइने जानकारी दिनुभयो ।
एक आपसको सम्बन्ध विस्तार, हार्दिकता, एकतालाई थप मजबुत गर्दै मगरहरुको गुमेको राजनैतिक अधिकारहरु स्थापना गर्न, गुमेको मगरात भूमि पुनःस्थापना गराउन, भाषिक सांस्कृतिक अधिकारहरु निश्चित गराउन, जातीय आधारमा राज्यको सबै तह र तप्कामा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चितताका लागि भएका आन्दोललाई थप ऊर्जा मद्दत गर्ने उद्देश्यले दिवस मनाउन लागिएको नेपाल मगर संघका वूर्व जिल्ला अध्यक्ष तथा माथागढी ३ का वडाध्यक्ष तेजबहादुर घर्तीमगरले बताउनुभयो । उहाँले वडाध्यक्ष घर्तीमगरले मगर समुदायको विकृति हटाउन र राम्रा पक्षको सुधार गर्दै सामाजिक सद्भाव कायम गर्ने अभियानको रुपमा समेत दिवस मनाईन थालेको बताउनुभयो । उहाँले यसका साथै मगर सभ्यताको आवश्यकता अनुसार विकास गर्न, भाषा,कला संस्कृतिको संरक्षण सहित शैक्षिक जागरण ल्याउने गरी दिवसका कार्यक्रम गरिने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले सामाजिक सद्भाव कायम गर्न दिवस सफल बन्नुपर्नेमा शुभकामना दिनुभयो । उहाँले मगर समुदायको परम्परागत भाषा, संस्कार, संस्कृतिहरु लोप भैरहेकोले त्यसको संरक्षणमा संघले सक्रियाता देखाउनुपर्नेमा जोड दिनुभयो । प्रकृति पूजकका रुपमा रहको समुदायले नयाँ पुस्तालाई आफ्नो संस्कार र संस्कृति बारे जानकारी गराउनुपर्ने समेत बताउनुभयो । कार्यक्रममा सहभागी पत्रकारहरुले दिवसमा हुने कार्यक्रम प्रभावकारी बनाउन सुझाएका थिए । उनीहरुले दिवसका नाममा भाषण, खानपिन र नाँच गान भन्दा पनि विशेष रुपमा सन्देश दिनेगरी कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।
यस वर्षको कार्यक्रममा माथागढी गाउँपालिकाका भित्र रहेका ८ वटै वडाबाट मगर तथा गैर मगर समुदायको उपस्थितिमा जातीय, साँस्कृतिक, भेषभुषा, खानपिन सहित झाँकी रÞ्याली प्रदर्शनी गरिने छ । यसका साथै औपचारिक तथा साँस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।







