पाल्पामा नयाँ प्रहरी प्रमुख

तानसेन । पाल्पामा नयाँ प्रहरी प्रमुखका रुपमा प्रहरी उपरीक्षक नरेन्द्र चन्द आउनुभएको छ । यसअघि काठमाण्डौको साइबर ब्यूरोमा काम गर्नुभएका प्रमुख चन्द सरुवा भएर जिल्ला प्रहरी कार्यालय पाल्पाको प्रमुखका रुपमा आउनुभएको हो । उहाँ जिल्ला आएसंगै शान्ति सुरक्षाका विषयमा छलफल तथा जिल्लाको समग्र अवस्थाका विषयमा बुझ्नका लागि विभिन्न सरोकारवाला निकाय तथा व्यक्तिसंग परिचयात्मक भेटघाट कार्यक्रम गरिरहनुभएको छ ।

यसैबीच मंगलबार पाल्पाका पत्रकारसँगको परिचयात्मक कार्यक्रममा प्रहरी प्रमुख चन्दले दवाब र प्रवाहमा रहेर काम नगर्ने बताउनुभएको छ । उहाँले कानुनको अधिकार क्षेत्र भित्र रहेर आफूले कार्यसम्पादन गर्ने बताउनुभयो । कानुनलाई टेकेर कसैको प्रभाव र दबाबमा नभई आफूले नागरिक र पीडितमैत्री भएर काम गर्ने प्रमुख चन्दको भनाइ थियो ।

प्रहरी संगठन कानुन कार्यान्वयन गर्ने निकाय हो । नागरिकको सुरक्षामा प्रहरीले निरन्तर काम गर्दै आएको छ । त्यसैले प्रहरीका हरेका गतिविधिलाई नागरिकले समयमा सहयोग गर्दा नजिता प्राप्त हुने भएकोले पाल्पाली जनतालाई सहयोगको लागि प्रमुख चन्दले आग्रह गर्नुभयो । प्रहरी एक्लै नभै सबै पक्षको सहकार्यमा समाजमा शान्ति सुरक्षा व्यवस्था मजबुत बनाउन सकिने भएकोले सहयोग,समन्वय र सहकार्य गरेर पाल्पा प्रहरी अगाडि बढ्ने उहाँले बताउनुहुन्छ ।

पत्रकारहरुसंगको भेटघाटमा प्रमुख चन्दले प्रहरीको सूचनाको स्रोत नागरिक नै हुन् । त्यसमा अझै बढी पत्रकारसँग सूचना हुन्छ । समयमा सूचना दिन र आवश्यक प्रमाण जुटाउने काममा प्रहरीलाई सहयोग गर्न उहाँले पाल्पाली पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो । कानुन विपरित काम गर्नेलाई कारबाहीको दायरामा ल्याउन सकेमात्र समाजमा शान्ति सुरक्षा कायम हुने उहाँको विश्वास व्यक्त गर्नुभयो ।

पछिल्लो समय साइबर अपराधका घटनाहरु बढेको बताउँदै आफ्नो क्षमता र अनुभवलाई उच्चतम प्रयोग गरेर सामाजिक सञ्जालबाट हुने अपराधिक घटनालाई न्यूनीकरण गर्न विशेष पहल गर्ने प्रमुख चन्दले बताउनुभयो । समाजमा अधिकांश अपराधिक घटना सामाजिक सञ्जालको दुरूपयोगका कारण घटेने गरेका छन् । जबरजस्ती करणी, आत्महत्या, हत्या, लुटपाट, ठगी, चोरी, डकैतीजस्ता घटना न्यूनीकरण गर्न सामाजिक सञ्जाल प्रयोेगबारे आम नागरिक सचेत हुन आवश्यक रहेकोले सचेतनाका लागि पत्रकारिताको माध्यमबाट यस विषयमा कलम चलाउन पत्रकारहरुलाई प्रमुख चन्दले आग्रह समेत गर्नुभयो ।

भेटघाट कार्यक्रममा पत्रकारहरुले लामो समयदेखि टुंगोमा नपुगेका मुद्दाहरुमा विशेष पहल गर्न र शान्ति सुरक्षाको अनुभूति हुनेगरी काम गर्ने सुझाव राखेका थिए ।

सम्बन्धित खवर