
पाल्पा । स्थापना भएको साढे ६ वर्षपछि रम्भा गाउँपालिकाले आफ्नो केन्द्रको टुंगो लगाएको छ । संघीय सरकारले तत्कालीन समयमा ३ नंं वडामा पर्ने खोकखोलामा केन्द्र तोकेर कामकाज सञ्चालन गरिरहेको छ । संघीय सरकारले दिएको केन्द्र परिर्वतनको अवसरलाई प्रयोग गर्न जुटेको गाउँपालिकाले अन्तिममा खोक खोलामै केन्द्र राख्ने निर्णय गरेको हो ।
पहिलो पटक केन्द्र तोक्दा संघीय सरकारले केन्द्र परिर्वतन गर्न चाहेमा ६ महिना भित्र बहुमतले र त्यसपछि गाउँसभाको दुई तिहाई मतबाट गर्न सक्ने व्यवस्था गरेको थियो । सोही अनुसार प्रक्रिया अगाडि बढाउँदा प्रस्तावित ठाउँले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र गाउँपालिकाले तयार गरेको कार्यविधि अनुसार आवश्यक मत प्राप्त गर्न नसक्दा केन्द्र सार्ने प्रस्ताव अस्वीकृत भएकोले खोकखोला नै केन्द्रका रूपमा स्थापित गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
रम्भा गाउँपालिका जिल्लाको सबै भन्दा कम वडा भएको पालिका हो । यहाँ ५ वडा रहेका छन् । यहाँका निर्वाचित जनप्रतिनिधिहरु, नेता तथा सरोकारवालाहरुले आफ्नो पायक पर्ने क्षेत्रमा गाउँपालिका केन्द्र लैजाने होडबाजी चलाएपछि केन्द्रको टुंगो लगाउन समस्या भएको थियो । केन्द्र टुंगो लगाउन आवश्यक कार्यविधि निर्माण गरेर काम अगाडि बढाएपछि माघ २८ गते बसेको १४ गाउँ अधिवेशनको तेस्रो बैठकले गाउँपालिकाको स्थायी केन्द्र बारे निर्णय लिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
गाउँपालिकाले कार्यविधि अनुसार स्थायी केन्द्रका लागि आवश्यक जग्गा प्रस्तावका लागि आह्वान गरे अनुसार ५ जना सभाका सदस्यले गाउँपालिका भित्रका विभिन्न स्थानमा केन्द्र बनाउनुपर्ने माग सहितको निवेदन दर्ता गर्नुभएको थियो । जसमा ३ नं. वडामा पर्ने शिखरडाँडाको नियालेका लागि केशरबहादुर राना, मेवाटारीका लागि कृष्णबहादुर रायमाझी र पिपलटारीका लागि सुरबहादुर सुनारीले प्रस्ताव दर्ता गर्नुभएको थियो । यस्तै खेमाकान्त बस्यालले ५ नं. वडाको भुर्लुके र २ नं. चेतबहादुर सुनारीले लुप्च पोखारमा केन्द्र राख्नुपर्ने माग गरेर प्रस्ताव दर्ता गर्नुभएको थियो । सभामा प्रस्तावित क्षेत्रको विषय निर्णायार्थ प्रस्तुत गर्दा तीन वटा प्रस्ताव अस्वीकृत भयो भने २ वटा शिखरडाँडा र पिपलटारीले छलफलका लागि समर्थन प्राप्त गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँपालिकामा २८ सदस्यीय गाउँसभा रहेको छ ।
अध्यक्ष बाहेक २७ जनाको सहभागितामा दुई स्थान मध्ये एक छनोटका लागि भएको निर्वाचनमा शिखरडाँडा नियालेका लागि १० जनाको समर्थन प्राप्त भयो भने १६ जनाले समर्थन गरेनन् र १ जनाले मत नदिएकोले उक्त स्थान अस्वीकृत भयो । यस्तै गरी पिपलटारीका लागि भएको निर्वाचनमा ८ जनाको समर्थन प्राप्त भयो । १४ जनाले समर्थन गरेनन् र ५ जनाले मत व्यक्त गरेनन् । जसले गर्दा उक्त स्थान पनि अस्वीकृत भयो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँपालिकाको केन्द्र परिर्वतनका लागि सभाका सदस्यहरुको दुई तिहाई बहुमतको निर्णय आवश्यक पर्छ । प्रस्तावित स्थानहरुले आवश्यक बहुमतका साथ निर्णय हुन नसकेपछि संघीय सरकारबाट तोकि आएको गाउँपालिकाको केन्द्र ३ नं. वडा कार्यालय खोकखोलाको ५ सय मिटर वरपर जग्गा व्यवस्थापन गरी भवन निर्माण गर्ने निर्णय सभाले गरेको हो । निर्णय अनुसार जग्गा प्राप्तीको प्रकृया अगाडि बढाइ सकिएको अध्यक्ष भण्डारीले बताउनुभयो । स्थायी केन्द्रको टुंगो लगाउन नसक्दा प्रशासनिक भवन निर्माणमा ढिलाइ भएको थियो । जसले सेवा प्रवाहमा समेत समस्या भएको थियो । केन्द्रको टुंगो लागेसँगै भवन निर्माणको कामलाई तीव्रता दिइएको उहाँको भनाइ छ ।