
पाल्पा । गत मंगलबार बेलुका तिनाउ गाउँपालिका वडा नं. ६ मस्यामको चिदीसमा भएको दुर्घटना ज्यान गुमाएका ५ जना मृतकको परिवारलाई तिनाउ गाउँपालिकाले राहत रकम वितरण गरेको छ ।
जिप दुर्घटना हुँदा मृत्यु भएर शोकमा रहेको ५ जनाको परिवारलाई तिनाउ गाउँपालिकाले घरमै पुगेर राहत रकम हस्तान्तरण गरेको हो । दुखका समयमा गाउँपालिका सबै नागरिकको अभिभावक भएको सन्देश दिन मृतकको परिवारहरुलाई जनही ३५ हजार रुपैंयाँको दरले राहत रकम वितरण गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।
आफ्नो स्थानीय तहमा दुर्घटना भएर ठूलो मानवीय क्षती भएपछि बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका मृत्यु हुने यात्रुका परिवारलाई राहत दिने निर्णय गरेको थियो । जस अनुसार तिनाउ गाउँपालिका भित्रका ५ जनाको परिवारले ३५ हजार रुपैंयाँको दरले राहत प्राप्त गरेका हुन । आइतबार गाउँपालिकाले मृतकको परिवारहरुको घरघरमै पुगेर राहत रकम हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँले मृतकको परिवारलाई तत्काल क्रिया तथा मृत्यु संस्कारको कामका लागि सघाउने हिसाबले राहत रकम प्रदान गरेको बताउनुभयो ।
जिप दुर्घटना हुँदा घटनास्थल आठ जना र उपचारका क्रममा दुई गरी दश जनाको मृत्यु भएको थियो । जसमध्ये तिनाउ गाउँपालिकाका मात्र ५ जनाको मृत्यू भएको थियो । तिनाउ गाउँपालिका भित्रका मृतकहरु ६० वर्षकी यनकुमारी पन्तका भदै गोपाल बहादुर थापा, ३९ वर्षीय रामबहादुर पन्तकी श्रीमती गोमा देवी अस्लामीलाई राहत रकम वितरण गरेको गाउँपालिकाका प्रवक्ता यादव अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै ६७ वर्षका कृष्णबहादुर अस्लामीका छोरा अभिशेक अस्लामी, २८ वर्षकी उर्मिला अस्लामीका छोरा खेम अस्लामी र २० वर्षिय गिता सुनारका श्रीमान सन्तोष विश्वकर्मालाई राहत रकम वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले जानकारी दिनुभयो । पाल्पाको डुम्रेबाट तिनाउ गाउँपालिका वडा नंं ६ को चिदीसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परी अन्य १६ जना घाइते भएका थिए । तिनाउ गाउँपालिकाका अध्यक्ष श्रेष्ठले अन्य घाईतेहरुको उपचारका लागि बीमा बोर्ड, अस्पतालको सामाजिक विकास शाखालगायत सम्बन्धित पक्ष संग समन्वय समेत गरेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरीको अनुगमनलाई बढाउनु पर्ने बताउनुभयो । उहाँले प्रहरीको आखा छलेर कच्चि सडकमा पुराना सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोक्ने कार्यलाई रोक्नुपर्नेमा जोड दिनुभयो । दुर्घटनाबाट ज्यान गुमाएका प्रति गाउँपालिकाले शोक व्यक्त गर्दै बुधबार एक दिन शोक विदा दिएको थियो ।