
पाल्पा । रैनादेवी छहरा गाउँपालिकाको चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका ३३ प्रतिशत योजनाको काम सम्पन्न भएको जनाएको छ । यस आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा ३३ प्रतिशत योजना सम्पन्न गरेको हो । गाउँपालिकाले आउँदो जेठ महिना भित्र उपभोक्ता समितिमार्फत सञ्चालनका लागि सम्झौता भएका सम्पूर्ण योजनाका कामहरु सक्ने गरी कामलाई तीव्रता दिएको जनाएको छ ।
चालु आर्थिक वर्षमा गाउँपालिकाले २ सय ७८ वटा योजना रहेका थिए । जसमा २ सय ४२ वटा सम्झौता भएका छन् । सम्झौता भएका योजनाहरुमा ९५ वटा कार्य सम्पन्न गरी फरफारक समेत भएको लेखा अधिकृत लिलामणी बस्यालले बताउनुभयो । गाउँपालिकाको कुल चालुगत तर्फको बजेटमा ३९ दशमलव ८९ प्रतिशत खर्च गरेको छ । यस्तै पुँजीगततर्फ १४ दशमलव ५६ प्रतिशत मात्र खर्च भएको लेखा अधिकृत बस्यालले बताउनुभयो । ठूला साना योजनाहरु सम्झौता भए पनि कार्य सम्पन्न नहुँदा भुक्तानी नभएकोले पुँजीगत खर्च कम देखिएको उहाँको भनाइ छ ।
यसका साथै गाउँपालिकाले आन्तरिक आम्दानीको कुल लक्ष्य अनुसार ६ महिनाको अवधिमा ६७ प्रतिशत प्रगति गरेको छ । जसमा ६० लाख ११ हजार रुपैयाँ आम्दानी भएको छ । गाउँपालिकाको न्यायिक समितिमा १६ वटा उजुरी परेकोमा ७ वटा फछ्र्यौट भएको र ९ वटा छलफलको क्रममा रहेको गाउँपालिका उपाध्यक्ष युवराज थापाले बताउनुभयो । गाउँपालिकामा बसाइँसराई गर्नेको संख्या बढ्दो छ । ६ महिनाको अवधीमा गाउँपालिका भित्र १ सय ३५ जनाले बसाइँसराई गरेर आएको र १ हजार ८८ जना बसाइँसराई गरी बाहिर गएको तथ्यांक छ ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य काम गरेको छ । नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न काम भएको छ । जस अनुसार एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । शिविरबाट २ सय ७१ जनाले स्वास्थ्य सेवा लिएको स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताउनुभयो । यसै वर्षदेखि वडा ८ मा सत्यवती माध्यमिक विद्यालयमा नर्सिङ कार्यक्रम सञ्चालन गरिएको छ । १ नं. वडा को देउलेमा सामुदायिक स्वास्थ्य एकाई सञ्चालन, छहरा स्वास्थ्य चौकीमा अत्याधुनिक माइक्रोस्कोप सहयोग, निःशुल्क स्त्रीरोग तथा महिला प्रजनन् स्वास्थ्य शिविरमा २ सय ७० जनाले सेवा लिएको प्रमुख रानाले जानकारी दिनुभयो ।
शिक्षातर्फ विद्यालय समायोजन तथा शिक्षक दरवन्दी मिलान गरिएको छ । कक्षा ४ र ५ को स्थानीय पाठ्यक्रम, कक्षा १ देखी ३ सम्मको स्थानीय पाठ्यपुस्तकको प्रारम्भिक मस्यौदा तयार भएको र शैक्षिक सत्र २०८१ देखि विद्यालयहरुका लागु गर्ने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । कोभिड तथा आर्थिक संकटको कारण संघ प्रदेशबाट रकम घटेर आए पनि गाउँपालिका भित्रका ठूला योजना अन्र्तगत सुन्दरढुंगा सालझण्डी क्षेत्रमा निर्माणको काम भइरहेको, छहरादेखि धजाबान्नेसम्मको सडक कालोपत्रेको काम भइरहेको, धजा बान्नेदेखि ३ नं वडा कार्यालय हुँदै तालपोखरा अर्घाखाँची जोड्ने सडकको स्तरोन्नतिको काम चलिरहेको र १५ शैयाको अस्पताल निर्माणको काम पनि सुरु भएको गाउँपालिका अध्यक्ष रुक्मांङत भट्टराईले बताउनुभयो ।