
पाल्पा । मंगलबार बेलुका तिनाउ गाउँपालिका वडा नं. ६ मस्यामको चिदीसमा भएको दुर्घटना प्रति नेकपा एमाले पाल्पाले दुख व्यक्त गरेको छ ।
डुम्रेबाट चिदीसतर्फ जादै गरेको लु १ ज २३७१ नम्बरको मुस्ताङ जिप दुर्घटना हुदाँ दश जना मृत्यु भएको थियो । यस्तै १७ जना घाईते भएका थिए ।
एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले विज्ञप्ती जारी गरेर दुर्घटनामा परी उपचारमा रहनुभएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । यसका साथै मृतकहरु प्रति श्रद्धाञ्जली व्यत्तः गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
एमाले पाल्पाले विज्ञप्ती मार्फत एउटा जिपमा भएको त्यती ठुलो दुर्घटनाले गम्भीर चुनौती खडा भएको जनाएको छ । यस प्रकारको दुर्घटनामा न्यूनीकरणमा सबै पक्ष जिम्मेबार बन्न आग्रह समेत गरिएको छ । यसका साथै घाइतेहरुको प्रभावकारी उपचार र मृतकको परिवारलाई उचित राहत प्रदान गर्नका लागि सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण समेत विज्ञप्ती मार्फत आग्रह गरिएको एमाले पाल्पाका उपसचिव दीपक विश्वकर्माले बताउनुभयो ।
एमाले पाल्पाको नेतृत्वले दुर्घटनाको खबर थाहा पाउने वित्तिकै घटनास्थल र लुम्बिनी मेडिकल कलेज प्रभासमा पुगी घाइतेहरुको अवस्था बारे जानकारी लिनुको साथै व्यवस्थित र प्रभावकारी उपचारको निम्ती पहलकदमी लिएको थियो । यसका साथै मृतक र घाइतेहरुको आफन्तहरुसंग भेटघाट गरेर सहानुभूति प्रकट गर्ने कामलाई गति दिएको थियो । यसका साथै जिल्लामा क्रियाशील अन्य राजनीतिक दल नेपाली कांग्रेस पाल्पा, राष्ट्रिय जनमोर्चा र जनप्रतिनिधिहरुले पनि दुर्घटना प्रति सामाजिक सञ्जाल फेसबुक मार्फत दुख व्यक्त गर्दै घाइतेहरुलाई भेटन अस्पतालसम्म पुगेका थिए ।
दुर्घटना भएको क्षेत्रमा रहेको तिनाउ गाउँपालिकाले बुधबार शोक विदा गरेको छ । यसका साथै गाउँपालिकाले मृतक नागरिकका लागि जनही ३५ हजार राहत उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । यसका साथै घाइतेहरुको उपचारमा आवश्यक रगत अभाव हुँन नदिन तानसेनको हुलाक चोकमा रक्त दान शिविर समेत चलाइएको छ ।







