
पाल्पा । प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाले नेपाल पत्रकार महासंघलाई श्रमजीवि पत्रकारहरुको साझा संगठन बनाउनु्पर्ने बताउनुभएको छ । उहाँले महासंघ स्वतन्त्र र समावेशी बनाउने अवधारणा चौतारीको भएकोले ठूलो कसरतबाट शुद्धिकरणको एजेण्डा स्थापित गर्न सकिएकोे बताउनुभयो । प्रेस चौतारी नेपाल पाल्पा शाखाको रामपुरमा चलेको दोस्रो साधारण सभामा बोल्दै महासचिव लामाले नेपाली पत्रकारिता जगतमा प्रेस चौतारीको भूमिका पत्रकार महासंघको भन्दा अगाडि रहेको बताउनुभयो ।
महासंघ स्वतन्त्र नहुँदा श्रमजीविको पक्षमा खुलेर उभिन सक्ने अवस्था छैन । चौतारीले श्रमजीवि पत्रकारहरुको हकहितको वकालत गर्छ तर महासंघले हामीलाई एमाले र प्रेस चौतारीको चस्माले हेर्दा समस्या बढ्ने गरेको महासचिव लामाको भनाइ छ । अहिल महासंघमा गाडि चलाउने चालकदेखि सम्पादकसम्म पत्रकार रहेको अवस्थाको अन्त्य र श्रमजीविहरुको संगठन बनाउन चौतारीको प्रस्तावमा शुद्धिकरण अभियान चलेको बताउनुभयो ।
शुद्धिकरण अभियानमा पत्रकार महासंघ पाल्पा शाखाले प्रदेशमा सिफारिस गरेको सदस्यता नामावलीमा प्रदेश समितिले टुंगाएर सार्वजनिक भएको ५३ जना सदस्यता कायम हुने महासचिव लामाले बताउनुभयो । संस्थागत छलफल, सहमतीबाट प्राप्त नतिजालाई कुनै आस्थाका आधारमा थपघट गर्ने षडयन्त्र भए चौतारी जिल्ला मात्र नभै केन्द्रीय कमिटी पनि आन्दोलनमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निर्भिक्ताका साथ आफ्नो पत्रकारिता कर्मलाई अगाडि बढाउन समेत आग्रह गर्नुभयाे ।
नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले संचार क्षेत्रले लोकतन्त्र वहालीका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभउो । चौतारीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रदिप आचार्यले पाल्पा चौतारीेले जिल्लामा वार्षिक साधारण सभा गर्ने परिपाटीको सुरुवात गरेर सबै जिल्लालाई सिकाएकोमा प्रशंसा व्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेश सञ्चार परिषद्का अध्यक्ष यम गाहाले प्रदेश सरकार सञ्चारसंस्था मैत्री नभएको गुनासो गर्नुभयो । उहाँले परिषद्को काम कारबाहीका लागि अहिलेको सरकार सकारात्मक नहुँदा काम गर्न नसकिएको बताउनुभयो ।
केन्द्रीय सदस्य तथा प्रदेश सह इन्चार्ज कमलराज तिमिल्सिना पाल्पाली पत्रकारिता क्षेत्रमा प्रेस चौतारी पाल्पाको भूमिका सधैभरी प्रशंसायोग्य रहेको बताउनुभयो । पछिल्लो समय संगठनले थप गति लिएको बताउँदै निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो ।
प्रदेश महासचिव निरु गौतमले पत्रकार महासंघले पेशा र व्यवसायलाई सुरक्षा दिने भन्दा पनि आस्थाको आधारले हटाउने गरेको आरोप लगाउनु भएको छ । उहाँले न्याय नभए समान्तर कमिटी बनाएर अगाडि बढ्ने तयारी चौतारी लुम्बिनी प्रदेशको टिमले गरेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले शुद्धिकरण अभियानमा शाखाका केहि पत्रकारहरुलाई राख्न नसक्ने अवस्था भएकोमा दुख लागेको बताउनु्भयो । उहाँले महासंघको सदस्य रहेपनि नरहेपनि आफ्नो समाचार लेख्ने कर्मलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो ।
यसका साथै सभाको उद्घाटन सत्रमा चौतारीका पाल्पा इन्चार्ज अमृता अनमोल, केन्द्रीय सदस्य मिलन विश्वकर्मा, निस्दी गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ, नेपाली कांग्रेस रामपुर नगर समिति सभापति नेत्र भट्टराई, चौतारीका निवर्तमान अध्यक्ष राजेन्द्र लिगल, चौतारी तानसेन नगर कमिटी अध्यक्ष गुणवती केसीलगायतले संचार क्षेत्र सहित समग्र विकासमा चौतारीले खेलेको भूमिका उपलब्धिपूर्ण रहेको बताउनुभयो ।
चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, उपाध्यक्ष बन्दना पोखरेलको स्वागत तथा सहसचिव सन्तोष ज्ञवाली र सचिवालय सदस्य विजय कुमार वौडेलको सञ्चालनमा भएको थियो । संघीय सांसद नारायणप्रसाद आचार्य, प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ, खेमबहादुर सारु, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीलगायतको विशेष उपस्थिति रहेको सभामा चौतारीको लोगो अंकित पिन समेत सार्वजनिक गरिएको थियो । पूर्व अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा चलेको बन्द सत्रले सांगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पास गरेको छ । यसका साथै पत्रकारिता र रामपुर क्षेत्रको विकासलाई समेटेर ७ बुँदे रामपुर घोषणा पत्र जारी गदै सभा सम्पन्न भएको सहसचिव सन्तोष ज्ञवालीले जानकारी दिनुभयो ।