पाल्पा । माथागढी गाउँपालिकाले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरेको जनाएको छ । गाउँपालिकाको अधिकांश भूगोल पहाडै पहाड रहेकोले नागरिकका लागि सेवा प्रवाहमा सहजता ल्याउन भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरेको हो ।
गाउँपालिकाले भौतिक पूर्वाधार विकासका लागि प्राविधिक र व्यवस्थापकीय क्षमता अभिवृद्धिमा समेत ध्यान दिएको छ । गाउँपालिकाले विभिन्न विकास निर्माणका कार्यका लागि लागत विश्लेषण गरेको छ । वडा नं. ४ को झडेवामा १५ शैयाको अस्पताल निर्माण सम्पन्नको अन्तिम अवस्थामा छ । संरचना निर्माणको काम सकिएर फिनिसिंगको काम चलिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
माथागढी गाउँपालिका वडा नं. १ को ज्ञानोदय आधारभुत विद्यालयको भवन निर्माण कार्य सम्पन्न भएको छ । चिदीपानी वडा कार्यालयको पहिलो तल्ला र दोश्रो तल्लाको ढलान सम्पन्न भई तेश्रो तल्लाको पिल्लर र गारोको काम भइरहेको र शौचालय र बाथरुमको काम समेत चलिरहेको वडा नं. १ का वडाध्यक्ष राजकुमार पन्थीले जानकारी दिनुभयो ।
गाउँपालिकाको भौतिक पुर्वाधार विकास तर्फ कसेनी स्वास्थ्य चौकीको ८० प्रतिशत काम सम्पन्न भएको छ । केही दिन अगाडि स्वास्थ्य चौकी निर्माणधीन स्वास्थ्य चौकीको संघीय सांसद नारायणप्रसाद आचार्य, प्रदेश सभा सदस्य खेमबहादुर सारु, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाललगायतको टोलीले स्थलगत अनसगमन समेत गरेको थियो । यस्तै देवगिर झडेवा, देवगिर देवीनगर, मान्के मोहने फेंदी, सराई सिकारकोट, ओलेस सिलंगी, सराई अगहनी विस्कुनडाँडा हुँदै सिलंगी मोटरबाटोको ढेणडर प्रक्रिया सम्पन्न गरेर निर्माण व्यवसायी संग सम्झौता गरिएको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो ।
भौगोलिक रुपमा जिल्लाकै सबैभन्दा ठुलो गाउँपालिका माथागढी भएकोले भौतिक पूर्वाधारको विकास गर्न चुनौति रहेको अध्यक्ष चिदीले बताउनुभयो । सीमित स्रोतले नागरिकहरुका असीमित आवश्यकताहरु एकै पटक पूरा गर्न नसकिए पनि आवश्यकतालाई प्राथमिकतामा राखेर क्रमश काम गर्दै जाने योजना अनुसार गाउँपालिका अगाडि बढेको उहाँको भनाइ छ । यसका साथै भौतिक पूर्वाधार संगै मानवीय विकासका लागि पनि गाउँपालिकाले ध्यान दिएको जानकारी दिनुभयो ।
त्यस्तै बसेनीखोला लाकेवरेढाप ट्रसपुलको इस्टिमेट तयार गरी स्टिल पार्ट खरिदको लागि टेन्डर आह्वान गरिएको छ । किसान माध्यमिक विद्यालयको १२ कोठे भवनको लागि ढेन्डर आह्वान गरिएको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि जग्गाको सुनिश्चित गर्ने काम सम्पन्न गरेर माटो परीक्षणको काम सकिएको गाउँपालिकाका इन्जिनियर धर्मेन्द्र यादवले जानकारी दिनुभयो ।
गाउँपालिकाले भौतिक पूर्वाधार, योजना तथा कार्यक्रमको प्रभावकारी सञ्चालनको लागि ७ वटा वडामा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले बताउनुभयो । अहिले सम्म चालु आर्थिक वर्षमा सञ्चालन भएर सम्पन्न हुने गरी १ सय ८ वटा योजनाहरु सम्झौता भएको छ । जसमध्य ११ वटा योजना सम्पन्न भइसकेको छ । १९ वटा योजनालाई पेश्की रकम निकासा दिएको गाउँपालिकाले जनाएको छ ।