पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले संगठनको २६ औं केन्द्रीय स्थापना दिवसमा शुभकामना आदान प्रदान तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले पाल्पाली पत्रकारिताको विकासमा प्रेस चौतारी नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले अझ पछिल्लो समय चौतारी पाल्पाले गरेका हरेक गतिविधि प्रशंसायोग्य रहेको बताउनुभयो । लामो सर्घषबाट प्राप्त उपलब्धी मास्नका लागि विभिन्न चलखेल भएको बताउँदै अध्यक्ष घिमिरेले लोकतन्त्रको रक्षाको लागि राजनीतिक दल र पत्रकारहरु एक ठाउँमा उभीनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले अन्य जिल्लाको तुलनामा पाल्पाली पत्रकारिकता राम्रो भएको बताउनुभयो । उहाँले स्थाथपना दिवसका अवसरमा सम्पूर्ण पत्रकारहरुलाई शुभकामना व्यक्त गर्दै श्रमलीवि पत्रकारहरु इमान्दार भएर बाच्ने अवस्थाको ग्यारेण्टी हुनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय नुमनाका रुपमा रहेको पाल्पाली पत्रकारितामा पनि केही समस्या देखिएको गुनासा आएको भएपनि खतमै भयो भन्ने अवस्था नरहेकोले सुधार गरेर अगाडि बड्नुपर्ने अध्यक्ष रानाको भनाइ थियो ।
शुभकामना आदना प्रदान कार्यक्रममा प्रेस युनियन नेपालका केन्द्रीय उपाध्यक्ष माधवप्रसाद अर्याल, प्रेस चौतारी नेपालका केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष भगवान भण्डारी, केन्द्रीय सदस्य तथा लुम्बिनी सह इन्चार्ज कमलराज तिमिल्सेना, केन्द्रीय सदस्य मिलन विश्वकर्मा, निर्वतमान जिल्ला अध्यक्ष राजेन्द्र लिगल, प्रेस युनियन पाल्पाका निर्वतमान जिल्ला सभापति भरत शर्मा,प्रेस सेन्टर पाल्पाका कोषाध्यक्ष कमल अधिकारी, समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदमप्रसाद गैरेलगायतले श्रमजीवि पत्रकारहरुको हकहितका लागि सबै संगठनहरु एक ठाँउमा रहेर समन्वय र सहकार्यका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँहरुले संगठनको क्रियाशीलताले सदस्यहरुमा हौसला र उत्साह थप्ने बताउँदै पाल्पाको विगतको पत्रकारिताको पहिचान कायम गर्न एकीकृत रुपमा योजना बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
शुभकामना आदान प्रदानसंगै दीप प्रज्वलन समेत गरिएको थियो । औपचारिक रुपमा भएको कार्यक्रम प्रेस चौतारी नेपाल पाल्पा शाखाका उपाध्यक्ष सन्तोष बस्यालको स्वागत, सहसचिव सन्तोष ज्ञवालीको सञ्चालन तथा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा चलेको हो ।