पाल्पा । तिनाउ गाउँपालिकाले गह्रा सुधारका नाममा भएको चुरे दोहन रोक्नका लागि अनुगमनलाई तीव्रता दिने जनाएको छ ।
गाउँ कार्यपालिकाको विहीबार बसेको ४४ औं बैठकले नयाँ गह्रा सुधारको योजनालाई स्वीकृती नदिने समेत निर्णय गरेको अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले अहिले गाउँपालिकाबाट गह्रा सुधारका लागि अनुमती लिएर काम गरेको क्षेत्रमा मापदण्ड भन्दा बाहिर गएर ढुंगाको उत्खनन् भएको जनगुनासोलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको बताउनुभयो ।
आगमी दिनमा गाउँपालिकाबाट गह्रा सुधारको योजनाका लागि वातावरणीय प्रभाव मुल्यांकन नगरिकन कुनै पनि कृषकलाई अनुमती नदिने निर्याय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादु बस्नेतले बताउनुभयो । अहिलेसम्म अनुमती पाएका र गह्रा सुधार योजनाको काम भएको स्थानको प्रभावकारी अनुगमन गरेर गह्रा सुधारको काम सम्पन्न भएपछि अन्तिम मुल्यांकन गरेर मात्र निकासीको अनुमती दिने निर्णय भएको उहाँको भनाइ छ ।
पछिल्लो समय तिनाउ गाउँपालिकाका विभिन्न स्थानमा किसानहरुले गह्रा सुधारका नाममा अनुमती लिएर गह्रा सुधार भन्दा अबैध रुपमा ढुंगा उत्खनन् कार्यमा लागेको स्थानीयवासीले गुनासो गर्दै आएका थिए । । जसमा गाउँपालिकाले प्रभावकारी रुपमा अनुगमन र नियमन गर्न नसक्दा संरक्षित चुरे क्षेत्र दोहनमा सहयोगी बनेको आरोप खेप्दै आएको थियो ।
सोही गुनासो र आरोपहरुलाई ध्यानमा राखेर अनुमती प्राप्त योजनाको प्रभावकारी अनुगमन र वातावरणीय प्रभाव मुल्यांकन नगरेसम्म नयाँ योजनाको अनुमती बन्द गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।