पशुपालक कृषकलाई माथागढीको अनुदान

पाल्पा । माथागढी गाउँपालिकाले पशु पालक कृषकहरुका लागि ७५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष ०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषकलाई अनुदान दिने तयारी थालेको हो ।

गाउँपालिकाले माथागढी भित्रका इच्छुक पशुपालक समूह, निजी फार्म समूह, सहकारी र व्यवसायिक कृषकहरुको लागि अनुदान दिने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाको लोकल कुखुरा प्रवर्धन कार्यक्रम अन्र्तगत अनुदानका लागि लोकल कुखुराको चल्ला वितरण गर्ने र दाना, खोप तथा औषधि दिने गरी समूहको हकमा प्रति कृषक ३० वटा कुखुरा हुनुपर्ने र निजी फार्मको हकमा २०० वटा कुखुरा हुनुपर्ने प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताउनुभयो ।

लोकल कुखुरा प्रवर्र्धन कार्यक्रम अन्तरगत बजेट परिधी भित्र रहेर २५ देखि ७५ प्रतिशतसम्म अनुदान दिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस भन्दा अघि पनि सहकारीमार्फत् अभिलेख राखेर कृषि तथा पशुजन्य वस्तुको उत्पादनमा अनुदान दिइरहेको छ । यस भन्दा अघि बाख्रा र लोकल कुखुरामा प्रति केजी २५ रुपैयाँ, पाडा÷बंगुरमा प्रतिकिलो १५ रुपैयाँ, दूधमा ५ रुपैयाँ प्रति लिटर,तरकारी÷फलफूल प्रतिकिलो ५ रुपैयाँ, अदुवा बेसार र मसलाजन्य उत्पादनमा प्रतिकिलो ५ रुपैयाँ उत्पादनमा अनुदान दिने निर्णय गरी तथ्यांक संकलन र भुक्तानीको प्रक्रिया अघि बढिरहेको गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले जानकारी दिनुभयो ।

गाउँपालिकाले आर्थिक वर्ष ०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार लहरे तरकारी बिउबिजन अनुदान कार्यक्रम अन्र्तगत ७५ प्रतिशत अनुदानमा लहरे तरकारीका बिउबिजन समेत वितरण गरिसकेको छ । गाउँपालिकाले काँक्रा, करेला, भिंडी, सिमी, बोडी, तर्बुजा लगायतका बिउबिजन अनुदानमा
वितरण गरेको हो । गाउँपालिकाले ७० प्रतिशत अनुदानमा प्लास्टिक टनेल तथा मल्चिङ समेत दिएको छ ।

त्यस्तै गाउँपालिकाले गोठ, खोर तथा जैविक सुरक्षा व्यवस्थापन सहयोग कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदान दिने भएको छ । गाउँपालिका तथा प्यानमा दर्ता नविकरण भएका समूह तथा व्यक्तिलाई निजी फार्ममा गाई भैंसी ४ वटा, बाख्रा ३० वटा, बंगुर १० वटा र कुखुरा ५०० वटा पालेकालाई गोठ खोरको सुधार तथा तारबार सहित गेट निर्माण गर्ने गरी अनुदान दिन लागिएको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो ।

त्यस्तै न्यूनतम ४० वटा बाख्रा पालेका र कम्तीमा २० वटा बाख्राको बिमा गरेका कृषक तथा समूह सहकारीलाई १० वटा बाख्रा र १ वटा बोका अनुदान दिने गाउँपालिकाले जनाएको छ । समूह, सहकारी र व्यक्तिगत रूपमा कृषि र पशुजन्य उत्पादनलाई अनुदान दिने निर्णय गरेपछि किसानहरु उत्साहित भएका छन् । गाउँपालिका अध्यक्ष चिदीले किसानलाई कृषि तथा पशुपालनको क्षेत्रमा व्यवसायिक बनाउने उद्देश्यले अनुदानको कार्यक्रम ल्याइएको बताउनुभयो । किसानहरुले कृषि तथा पशुपालनको उत्पादनमा अनुदान दिएपछि गाउँपालिकाको कृषि उत्पादन बढ्ने उहाँको विश्वास छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय