
पाल्पा । सार्वजनिक प्राथमिक विद्यालय तानसेन १२ बौघापोखराथोकको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
वार्षिकोत्सव कार्यक्रममा तानसेन १२ नं. वडाका वडाध्यक्ष मेजर सिह केसीले विद्यालय सञ्चालनको लागि विद्यार्थी, अभिभावक र सञ्चालक समिति जिम्मेवार हुनु पर्ने बताउनुभयो । उहाँले गाउँबाट बसाइँसराई गरी बजार पस्ने समस्याले विद्यालयहरुमा विद्यार्थीको समस्यामा पर्न थालेको बताउनुभयो । यसका साथै विद्यालयहरुको शैक्षिक गुणस्तर कमजोर भएकोले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि सबै पक्ष जिममेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
वार्षिकोत्सवका अवसरमा १२ वर्ष देखि लगातार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्नुभएका केहर सिह राना, सदस्यहरु मान बहादुर राना र भिम बहादुर रास्कोटी, यसैगरी विद्यालयका सहयोगी झमान सिह दर्लामी, विद्यालयको जग्गादाता निर वहादुर गहतराज, विद्यालयको भौतिक निमार्णमा सहयोग गर्ने पशुपति केसी, पुरन राना, दिपेन्द्र आले तथा विद्यालयका पूर्व शिक्षिका सविता राना आलेलार्ई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं सम्मानित व्यक्तित्व केहर सिह रानाले विद्यालयको आजको अवस्थामा ल्याउनको लागि आफू मात्र नभएर सिंगो समुदायको कारण विद्यालयले प्रगति गरेको चर्चा गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक राम कुमारी थापाले करिब ४० लाख वरावरको आम्दानी खर्चको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा पदम बहादुर रुचालले १५ हजार ५ सय, मिना खत्रीले १० हजार र उषा ढकालले १० हजार राशी बराबरको अक्षयकोषको स्थापना गरिदिनुभएको छ ।
शिक्षक श्रृषिराम भण्डारीले स्वागत, शिक्षिका पोविसरा रानाको सञ्चालन तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालको अध्यक्षतामा वार्षिकोत्सव समारोह चलेको हो ।