पाल्पा । तानसेन नगरपालिकाको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको प्रदेशसभा सदस्य वीरबहादुर रानाले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन गर्दै प्रदेश सभा सदस्य रानाले स्थानीय तहको कार्यहरुलाई गतिशील बनाउन खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले खेलकुदले स्थानीयस्तरमा सक्षम जनशक्ति उत्पादनमा सहयोग गर्ने भएकोले खेल क्षेत्रको विकासका लागि प्राथमिकतामा राखेर काम गनृुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले खेलकुदले शारीरिक तथा मानसिक रुपमा सक्षम बनाउने भएकोले यस क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थी खेलाडीलाई प्रतिस्पर्धा स्वच्छ र लगनशील भएर सफलता हात पार्न शुभकामना समेत व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी आन्नद काफ्लेले पछिल्लो समय स्थानीय तहमा खेलकुदका गतिविधि बढ्नु आफैमा राम्रो काम भएको बताउनुभयो । उहाँले खेलकुदबाटै भविष्य सुनिश्चित हुने वातावरण निर्माण गरेर खेलाडीलाई प्रोत्साहनका कार्यक्रम स्थानीय सरकारले सञ्चालन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
जिल्ला खेलुकुद विकास समिति पाल्पाका अध्यक्ष दीपक घिमिरेले प्रतियोगितामा सहभागी विद्यालय तथा विद्यार्थी खेलाडी अनुसाशीत भएर प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो । खेलकुदमा अनुसाशन अत्यन्त महत्वपूर्ण रहने बताउँदै जिल्ला र प्रदेशस्तरको रनिङ शिल्ड जित्नेगरी क्षमता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो ।
तानसेन टुंडिखेलमा चार दिनसम्म चल्ने प्रतियोगिता माघ १९ गते सकिने छ । प्रतियोगितामा मुल ५ विधाका ५३ खेलमा ३ सय ८० पदकका लागि प्रतिस्पर्धा हुने छ । जसका लागि नगरपालिका भित्रका २७ माध्यमिक विद्यलायका ६ सय २३ विद्यार्थी खेलाडीको सहभागिता रहेको शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रम नगर उपप्रमुख प्रतीक्षा संजालीको स्वागत तथा नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा चलेको हो ।