भगवती जात्रालाई राष्ट्रिय पर्व घोषणाको माग

पाल्पा । भगवती जात्रालाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्न पहिलो पटक औपचारिक रुपमा माग गरिएको छ ।

यस अघि समय समयमा राष्ट्रिय पर्वका रुपमा भगवती जात्रा मनाउनुपर्ने आवाज उठेपनि औपचारीक रुपमा प्रक्रिया अगाडि बढ्न सकेको थिएन । पछिल्लो पटक पाल्पा निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद ठाकुरप्रसाद गैरेले संसदमै श्री ७ रणउज्जेश्वरी भगवती मन्दिरको विजय उत्सव राष्ट्रिय विजय उत्सवका रुपमा मनाउने गरी व्यवस्था तथा सञ्चालनको माग समेत गर्नुभएको थियो ।

निरन्तरको सर्वपक्षिय आवाजलाई मध्यनजर गर्दै मन्दिर व्यवस्थापन समितिको आग्रहमा तानसेन नगरपालिकाले आवश्यक प्रक्रिया पूरा गरेर प्रदेश सरकारको सिफारिस सहित पाल्पाली टोलीले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ऐतिहासिक भगवती जात्रालाई राष्ट्रिय विजय उत्सवको रूपमा मनाउने व्यवस्थाका लागि ज्ञापन पत्र बुझाएको छ । गत शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर पाल्पाली टोलीले भगवती जात्रालाई राष्ट्रिय पर्व घोषणा गर्दै सो अवसरमा राष्ट्र प्रमुख वा सरकार प्रमुख सहभागी हुने व्यवस्था मिलाउन समेत माग गरिएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । उहाँले जात्राका दिन विदा दिन समेत माग गरिएको बताउनुभयो ।

प्रतिनिधिसभाका सदस्य ठाकुरप्रसाद गैरे, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतीक्षा सिंजाली गाहा, जिल्लामा क्रियाशील राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर भगवती जात्रालाई राष्ट्रिय पर्व घोषणा गर्न माग गर्नुभएको हो । वि.स १८७१–०७२ मा नेपाल–अङ्ग्रेज युद्ध हुँदा नेपाली फौजले सानदार रूपमा अंग्रेज फौजलाई हराएको सम्झनामा भगवती जात्रा निकालिर्दै आएको छ ।

पाल्पामा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवती जात्रा मनाउने प्रचलन छ । तत्कालीन पाल्पा फौजका कर्णेल उजिरसिंह थापाको नेतृत्वमा पाल्पा र रुपन्देहीको सिमानामा रहेको जितगढी किल्लामा नेपाली फौजले विजयी हासिल गरेको थियो । जात्राको ऐतिहासिक गरिमालाई संसारभर फैलाउन भगवती जात्रालाई राष्ट्रिय पर्वको रूपमा घोषणा गर्न प्रधानमन्त्री समक्ष माग गरिएको ज्ञापन पत्र बुझाइएको सांसद गैरेले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री प्रचण्ड भगवती जात्रालाई पाल्पाली जनताको मागअनुसार राष्ट्रिय पर्वको रूपमा घोषणा गर्न सकारात्मक रहेको र मन्त्रीपरिषद्मा आवश्यक छलफल गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको संघीय सांसद गैरेको भनाइ छ ।

नेपाल–अग्रेजको युद्धमा जानुअघि कर्णेल उजिरसिंह थापाले युद्धमा विजयी हासिल गरेमा भगवतीको महिमा फैलाउने भाकल गर्नुभएको थियो । सोही भाकल अनुसार युद्धमा विजयी प्राप्त गरेपछि वि.स १८७६ सालदेखि भगवतीको रथलाई तानसेन बजारमा परिक्रमा गराउने परम्परा रहेको इतिहासविद् निर्मल श्रेष्ठको भनाइ छ । त्यतिबेला नेपाली फौजले अन्य स्थानमा पराजित बेहोरेकाबेला जितगढी किल्लामा मात्र विजयी हासिल गरेको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर