
पाल्पा । माथागढी गाउँपालिकामा निर्माण भैरहेको १५ शैयाको आधारभूत अस्पताल निर्माण कार्य तीव्र गतिमा भएको छ ।
गाउँपालिका भित्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँच वृद्धिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५, १० र १५ शैयासम्मको अस्पताल नभएका स्थानीय तहमा अस्पतालको भवन बनाउने योजना अनुसार भवन निर्माण कार्य भएको हो । भवन गाउँपालिकाको ४ नं. वडा झडेवाको साविक स्वास्थ्य चौकी रहेको स्थानमा ९ रोपनी क्षेत्रफलमा बनिरहेको छ ।
२०७८ जेठ २७ गते प्राकृतिक निर्माण सेवासँग करिब १२ करोड लागतमा २०८१ जेठसम्म सक्नेगरी ठेक्का सम्झौता भएको छ । सोही अनुसार समयमै काम सम्पन्न गर्नेगरी निर्माण व्यवसायीले काम गरिरहेको गाउँपालिकाले जनाएको छ । दुई तले अस्पतालको भवनमा अहिले स्टक्चरको काम अन्तिम चरणमा पुगेको छ । अव फिनसिंग र रंग रोगनको काम भएपति पूरा हुने र सेवा सुचारु गर्न सकिने गाउँपालिका स्वास्थ्य शाखा संयोजक केशव जिसीले बताउनुभयो ।
अस्पताल निर्माण कार्य सम्पन्न भएपछि दरबन्दी नवौं तहको चिकित्सको नेतृत्वमा ३० जना स्वास्थ्यकर्मीले सेवा दिने छन् । आधारभूत अस्पतालबाट ओपिडी सेवा, प्रयोगशाला सेवा, एक्सरे सेवा, आयुर्वेद सेवा, दन्त उपचार सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा (बिरामी भर्ना) र फार्मेसी सेवा उपलब्ध हुने छ । जसले गर्दा सामान्य अवस्थाका बिरामीले औषधि उपचारका लागि तानसेन तथा आसपासका ठूला अस्पतालमा जानुपर्ने अवस्थाको अन्त्य हुने गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । उहाँले गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताउनुभयो । अस्पतालबाट सेवा सुरु भएपछि गाउँपालिकाका झडेवा, गोठादी, हात्तिलुङ, रहवास, बहादुरपुरका सबै र कसेनीको केही भागका नागरिकलाई फाइदा पुग्ने अध्यक्ष चिदीले बताउनुभयो ।
पछिल्लो समय आधारभूत तहको स्वास्थ्य सेवा उपलब्ध गराउने जिम्मा स्थानीय सरकारमा छ । सोही अनुसार नागरिकलाई अनुभूति हुनेगरी हामीले काम गरिरहेको गाउँपालिका प्रवक्ता शंकर दर्लामीले बताउनुभयो । सुरुका समयमा शल्यक्रिया बाहेकका सेवा नजिकको अस्पतालबाट प्रभावकारी सेवा प्राप्त गर्दा नागरिकलाई सहज हुने उहाँको भनाइ छ ।
गाउँपालिका भित्र ७ वटा स्वास्थ्य चौकी र ७ ओटा सामुदायिक स्वास्थ्य एकाईबाट स्वास्थ्य सेवा प्रवाह गरिरहेका छन् । अहिले १ को वडाको चिदीपानी २ नंं वडाको रुप्सेमा सुविधा सम्पन्न भवन छ । यस्तै गरी ३ नं. वडा कसेनीमा भवन निर्माणधीन अवस्थामा रहेको छ ।
७ नं. वडा रहवास र ८ नं. वडा बहादुरपुरमा पनि आफ्नै भवनबाट सेवा दिदै आएको छ । स्वास्थ्य चौकीबाट सेवा लिइरहेका नागरिले स्थानीयस्तरमै अस्पतालको सुविधा प्राप्त गर्ने वातावरण निर्माण हुँदा धेरै सहज हुने गाउँपालिकाले जनाएको छ ।