
पाल्पा । बगनासकाली गाउँपालिकाले माघ ९ गतेदेखि एकीकृति घुम्ति शिविर सुरु गरेको छ । वडामै पुगेर नागरिकलाई सेवा दिने उद्देश्यले सुरु भएको शिविर माघ १९ गतेसम्म चल्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले त्रैमासिक रूपमा वडामै पुगेर सेवा प्रवाहलाई निरन्तरता दिनेगरी योजना अगाडि सारेको छ । शिविरमार्फत सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य परीक्षण औषधि वितरण तथा स्वास्थ्य शिक्षा, आयुर्वेद स्वास्थ्य जाँच, औषधि वितरण तथा स्वस्थ जीवनशैली शिक्षा, पशु स्वास्थ्य अन्तर्गत औषधि वितरण तथा पशुसेवा परामर्श र जेष्ठ नागरिक परिचय पत्र सम्बन्धी सेवाहरू उपलब्ध गराइने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । जनतालाई केन्द्रमा राखेर आफूहरूले सेवा प्रवाहलाई प्राथमिकतामा राखेर वडातह बाटै सेवा उपलब्ध गराउन शिविर सञ्चालन गरिएको छ । स्थानीय सरकार नागरिकको नजिकको सरकार हो भन्ने मान्यता स्थापित गर्न वडास्तरमा सेवा दिइएको अध्यक्ष चिदीको भनाइ छ ।
गाउँपालिकाले वडामै पुगेर पाँच शीर्षकमा सेवा प्रवाह गरिएको प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले जानकारी दिनुभयो । गाउँपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयनका लागि जनतालाई स्थानीय सरकार हाम्रो सरकार हो भन्ने भावना जागृत गराउन वडा तहमै पुगेर सेवा प्रवाह गरिएको उहाँको भनाइ छ ।
वडामै आएर गाउँपालिकाले सेवा प्रवाह गर्दा स्थानीयवासी उत्साहित भएर सेवा लिन आएको गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले बताउनुभयो । उहाँले वडाबाट नै सेवा पाउँदा नागरिकलाई गाउँपालिकामा जान आउन लाग्ने समय र खर्च समेत बचत भएकोले प्राथमिकतामा राखेर शिविर चलाइएको बताउनुभयो । गाउँपालिकाले गत आर्थिक वर्षदेखि एकीकृत घुम्ती शिविरलाई निरन्तरता दिँदै आएको छ ।