पाल्पा । रामपुर नगरपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रामतुलसी नमुना माध्यमिक विद्यालयले जितेको छ ।
उसले ९ स्वर्ण, ६ रजत र ४ कास्य सहित १७ पदक जितेर उपाधि हात पारेको हो । यस्तैगरी प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र २ कास्य सहित १० पद जितेर जनकल्याण माध्यमिक विद्यालय रामपुर १० दोस्रो भएको छ । नवदुर्गा माध्यमिक विद्यालय ४ स्वर्ण, १ रजत र ३ कास्य सहित तेस्रो भएको छ । प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित भूपू सैनिक राइजिङ्ग इङ्गलिश स्कुल सान्त्वना भएको छ ।
तीन दिन सम्म रामपुर ६ विजयपुर खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी र तेक्वान्डो अन्र्तगतका १६ विद्याको खेलमा छात्रछात्राहरुले प्रतिस्पर्धा गरेका थिए । नगर भित्रका १७ सामुदायिक र ४ संस्थागत गरी २१ विद्यालयका छात्रछात्राहरुले सहभागिता रहेको प्रतियोगिता रामपुर नगरपालिकाको आयोजना र दरैठाँटी माध्यमिक विद्यालयकोे व्यवस्थापनमा भएको थियो ।
प्रतियोगिता समापनका अवसरमा विद्यार्थी तथा विद्यालयलाई पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेल हार जितका लागि मात्र नभई स्वास्थ्य र अनुशासनका लागि पनि भएको बताउनुभयो । उहाँले खेलकुदले खेलको मात्र नभई मानसिक र सामाजिक विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
दरैठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सदस्य सचिव सुन्दर प्रसाद देवकोटाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।