पाल्पा । रामपुरमा सञ्चालन भएको चार दिने सूचना प्रविधि सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ ।
नगरपालिका भित्रका प्राथमिक र आधारभूत तहका विद्यालयहरुका लागि रामपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा तालिम भएको हो । तालिममा विद्यालयको सूचना प्रणालीलाई डिजिटल माध्यममा कसरी राख्ने र शिक्षकहरुलाई डिजिटल साक्षर बनाउनका लागि ज्ञान सीप सिकाइएको थियो ।
तालिम समापन सत्रमा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले प्रविधियुक्त नगरपालिका निर्माण गर्ने अभियानमा नगरपालिका लागेको बताउनुभयो । उहाँले विद्यालय मात्र नभई हरेक वडा कार्यालय र नगरपालिका मातहतका सबै कार्यालयलाई प्रविधिमैत्री बनाउँदै लागिएको बताउनुभयो । प्रविधिको उच्चतम प्रयोग गर्दै विद्यालयको सूचना प्रणालीलाई चुस्त दुरुस्त राख्न नगर प्रमुख थापाले आग्रह गर्नुभयो
कार्यक्रममा रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले विद्यालयको प्रशासनिक कामका लागि आवश्यक ज्ञान सीप तालिम मार्फत सिकाइएको भन्दै तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । यस्तैगरी तालिमका प्रशिक्षक विमल रानाले सिकेका ज्ञानलाई विद्यालयमा निरन्तर रुपमा प्रयोग गरी सूचना प्रविधि सम्बन्धी दक्ष बन्न आग्रह गर्नुभयो । कार्यक्रममा तालिममा सहभागिहरुको तर्फबाट रश्मिता घिमिरे र कृष्णप्रसाद कंडेलले डिजिटल रुपमा साक्षर हुने अवसर प्रदान गरेकोमा नगरपालिकालाई धन्यवाद दिँंदै सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तालिममा नगरपालिका भित्रका २८ प्राथमिक विद्यालय र ५ वटा आधारभूत विद्यालयका ३३ जना शिक्षकहरुको सहभागिता रहेको सामाजिक विकास समितिका संयोजक सिमादेवी थापाले जानकारी दिनुभयो ।