
पाल्पा । सामुदायिक वन समन्वय समितिको आयोजनामा “संरक्षणका लागि वडागत अभियान“ सम्पन्न गरेको छ । तिनाउ ३ नं. वडा भित्रका सामुदायिक वन उपभोक्ता समूहहरुको अवस्था अध्ययन तथा अवलोकन कार्यक्रम अन्तर्गत अभियानको कार्यक्रम गरिएको हो ।
कार्यक्रमका तिनाउ गाउँ कार्यपालिकाकी सदस्य पम्फा मगरले वडाभित्र रहेका सामुदायिक वन उपभोक्ता समूह र धार्मिक वनलाई एकै ठाउँमा भेला गराई वनको अवस्था, समस्याका बारेमा छलफल गर्ने वातावरण तयार गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सामुदायिक वनहरुले आफ्नो साधारणसभा, अधिवेशन तथा लेखापरीक्षण समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले वन, वातावरण र जैविक विविधता संरक्षणमा समन्वय समितिले खेलेको भूमिका प्रष्ट पार्दै सामुदायिक वनलाई सशक्तिकरण गर्नका लागि आफूहरुले पालिकाभित्र रहेका सबै वनलाई समेटेर अभियान सञ्चालन गरेको जानकारी गराउनुभयो । उहाँले वनलाई उद्यम र कृषि वनसँग जोड्नका लागि समेत अनुरोध गर्नुभयो ।
समितिका सल्लाहकार राजेश श्रेष्ठले दोभान कृषि बहुउद्देश्यीय सहकारी संस्थाले सामुदायिक वनका उपभोक्ताहरुलाई आर्थिक उन्नतिसँग जोड्न क्रियाशील रहेको बताउनुभयो । सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एवम् प्रतिनिधिहरुका तर्फबाट दिलकुमारी रोका, गुरुप्रसाद शर्मा, सावित्रा पाण्डेय, उमा पाण्डेय, दलबहादुर रास्कोटी, गंगाबहादुर पुन, ध्रुव चिदी, नारायणी पाण्डेय, देवप्रसाद पौडेल, जगबहादुर क्षेत्री, माया तरामी, ऋषिराम थापा, निषा तरामी मगरले वडा नं .३ भित्र रहेका सामुदायिक वनहरुलाई डढेलोका कारण समस्याग्रस्त बनाएको, ढलापढा बेचविखन गर्न नपाउँदा आम्दानी घटेको, समूहको आर्थिक अभावका कारण लेखापरीक्षण गर्न सकस परेको, डिभिजन वन कार्यालयले खाता बन्द गरिदिएको, वनका बाँदर, दुम्सी, चितुवालगायतका वन्यजन्तुले खेतीपातीमा समस्या पुराएको र सरकारले सामुदायिक वनभित्रका दालचिनी लगायतका काष्ठ उत्पादनमा कर लगाउँदा बेच्न कठिन बनाएको गुनासो गर्नुभएको थियो । उहाँहरुले सहयोग र सहजीकरणका लागि समन्वय समितिले भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभयो ।
सिद्वबाबा धार्मिक वनका अध्यक्ष सन्तोष शेरचनले सीमानामा हुने चोरी निकासीका कारण धार्मिक वनलाई जोगाउन मुस्किल भएको गुनासो गर्नुभयो । सोही अवसरमा तिनाउ सब डिभिजन वन कार्यालय, दोभानका फरेष्टर नारायण घिमिरेले सहभागीका जिज्ञासाहरुलाई समाधान गर्दै आगामी दिनमा आफ्नो कार्यालयले गर्नुपर्ने काममा कुनै ढिलाई नहुने प्रतिबद्वता जनाउनुभयो ।
कार्यक्रममा समृद्धिका लागि वन परियोजनाका तिनाउ प्राविधिक रमेश थापाले आफ्नो परियोजनाका बारेमा जानकारी गराउनुभयो । बुटवल उपमहानगरपालिकाका वन अधिकृत रोहित भुसालले तिनाउका जलाधार संरक्षणका लागि वन जोगाउनु पर्ने बताउनुभयो । कार्यक्रमको आवश्यकता ओैचित्यका बारेमा जानकारी गराउँदै समन्वय समितिका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले सहभागीहरुलाई स्वागत गर्नुभएको कार्यक्रम कोषाध्यक्ष विनोद बस्यालको सञ्चालन तथा अभियानका संयोजक दिनेश जीसीको अध्यक्षतामा भएको हो ।