दिव्य ज्योतिले जित्यो माथागढीको रनिङ शिल्डको उपाधि

पाल्पा । माथागढी गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिव्य ज्योति माध्यमिक विद्यालय माथागढी ३ सराई पाल्पाले जितेको छ ।

बिहीवारदेखि शनिबारसम्म जम्मा तीन दिन माथागढी ३ को कसेनी सराई खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा दिव्य ज्योतिले १० स्वर्ण, ५ रजत र ६ कास्य गरी जम्मा २१ पदक जितेर उपाधि हात पार्न सफल भएको हो । यस्तैगरी ६ स्वर्ण, ८ रजत र ७ कास्य गरी २१ पदक जितेर सौभाग्य माध्यमिक विद्यालय माथागढी १ चिदीपानी दोस्रो भएको छ । प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ४ कास्य गरी जम्मा १३ पदक हात पारेर किसान माध्यमिक विद्यालय माथागढी ४ वि झडेवा तेस्रो भएको छ ।

प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालयले ९, ग्रामोदय माध्यमिक विद्यालयले ६, महेन्द्र नरेश माध्यमिक विद्यालयले ५, सनराइज पब्लिक स्कुलले ६, कर्णधार माध्यमिक विद्यालयले ४, रत्न माध्यमिक विद्यालयले ३, सातपोखरी माध्यमिक विद्यालयले २, धारादेबी माध्यमिक विद्यालयले १, माउण्ट भ्याली ई स्कुलले १ वटा पदक जित्न सफल भए । प्रतियोगितामा सहभागी भएर हात्तिलुङ माध्यमिक विद्यालयले कुनै पनि पद जित्न सकेन ।
गाउँपालिका भित्रका १३ माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भलिबल, हाइजम्प, लङ्जम्प, ज्याभलिङ् थ्रो, कवड्डी, दौड, रिले, कराते, तेक्वान्दोलगायतका १६ विधाका खेल खेलाइएको थियो । जसमा छात्र २ सय ५५ र छात्रा ३ सय ३० गरी जम्मा ५ सय ८५ जना विद्यार्थी प्रतिस्पर्धामा रहेको गाउँपालिकाकी शिक्षा प्राविधिक सहायक एलिना थपलियाले जानकारी दिनुभयो ।

प्रतियोगिताको सपापन समारोहमा विजयी विद्यार्थी खेलाडीहरुलाई पदक वितरण गर्दै माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले माथागढीका खेलाडीहरुले जिल्ला र प्रदेशस्तरमा हुने प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालयस्तरबाटै खेलकुदमा सक्रिय विद्यार्थीहरु अध्ययनमा पनि सफल बन्ने बताउनुभयो । शैक्षिक ज्ञानसँगै खेलकुद पनि महत्वपूर्ण रहेकोले विद्यालयहरुले यस विषयमा बढी ध्यान दिएर काम गर्नुपर्नेमा अध्यक्ष चिदीले जोड दिनुभयो । जसका लागि आवश्यकता अनुसारको सहयोग गाउँपालिकाले सक्दो सहयोग उपलब्ध गराउने उहाँको बताउनुभयो ।

कार्यक्रममा माथागढी गाउँपालिकाका प्रवक्ता शंकर दर्लामी, १ नं. वडाका वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक राजुकमार पन्थी, ३ नं. वडाका वडाध्यक्ष तेजबहादुर घर्तीमगर, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतले विजयी विद्यार्थी खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै खेलकुदले शारीरिक तथा मानसिक रुपमा सवल बनाउने भएकोले यसलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेको अध्यक्षता भएको समापन कार्यक्रम अतिरिक्त क्रियाकलाप समिति संयोजक शिव घिमिरेको सञ्चालनमा चलेको हो ।

प्रतियोगिताको उद्घाटन सत्रमा पाल्पा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले गर्नुभएको थियो । उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा गाउँपालिकाले पर्याप्त लगानी गर्नुपर्ने समेत बताउनुभयो । यसका साथै लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले खेल क्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान हुने बताउर्दै खेलाडीहरुलाई इमान्दारपूर्वक स्वच्छ प्रतिस्पर्धा गरेर आफ्नो र विद्यालयको नाम राख्न आग्रह गर्नुभयो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले प्रतियोगिताले विद्यार्थीहरुमा लुकेर रहेको क्षमता प्रदर्शन हुने बताउनुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय