स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व

पाल्पा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार बसेको १४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले रामप्रसाद पन्थीको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्य नयाँ नेतृत्व चयन गरेको हो ।

जसको उपाध्यक्षमा युवराज पन्त, सचिवमा विष्णुप्रसाद खनाल, सहसचिवमा शिवप्रसाद पाण्डे र कोषाध्यक्षमा ज्योती कार्की रायमाझी रहनु भएको छ । यस्तैगरी सदस्यहरुमा हरिबहादुर बाह्रघरे, सञ्जय घर्ती, लक्ष्मण भण्डारी, जमुना न्यौपाने, गोपीकृष्ण आचार्य र ज्ञानु पाण्डेलाई चयन हुनुभएको निर्वाचन मण्डलका सदस्य राजेन्द्र लिगलले जानकारी दिनुभयो ।

अधिवेशनमा लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले संघीयताको अभ्यास गरिएको भएपनि आवश्यकता अनुसार व्यवसायी मैत्री कानुन नआउँदा व्यवसायी सुरक्षामा चुनौती देखिएको बताउनुभयो । उहाँले कानुन नहुँदा पुस्तक व्यवसायीहरु मात्र नभै अन्य व्यवसायीहरु पनि समस्यामा रहेको बताउनुभयो । अहिलेको आवश्यकता तीनै तहका सरकारले व्यवसायी मैत्री कानुन निर्माण गरी नागरिकलाई व्यवसाय गरेर जीवन धान्नसक्ने वातावरण बनाउनुपर्ने रहेको प्रदेश सभा सदस्य सारुको भनाइ थियो ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य गणपति पाण्डेले व्यवसायीको अधिकार सुनिश्चित गर्न महासंघ लागि परेको बताउनुभयो । अर्का केन्द्रीय सदस्य कमलराज तिमिल्सिनाले पुस्तकको सहज आपूर्तिको व्यवस्थाका लागि महासंघ प्रतिबद्ध भएर लागेको बताउँदै मर्यादित ढंगबाट व्यवसाय सञ्चालन गर्नु पर्ने आवश्यक रहेको औल्याउनुभयो ।

यस्तैगरी तानसेन नगरपालिका वडा नं. ६ का अध्यक्ष सागरमान महर्जनले पुस्तक तथा स्टेशनरी व्यवसाय अन्य व्यवसायहरु विशिष्ट व्यवसाय रहेको बताउनुभयो । उहाँले पुस्तक व्यवसायीले व्यवसाय मात्र गरेको नभएर संगै सेवा पनि गरिरहेको बताउनुभयो । महासंघ पाल्पाका संस्थापक अध्यक्ष केदारलाल श्रेष्ठले पुस्तक तथा स्टेशनरी व्यवसाय इज्जत कमाउने र ज्ञान बाँड्ने पेशा रहेको बताउनुभयो ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले व्यवसायीहरुमा प्रोत्सहानका कार्यक्रम नहुँदा विदेश पलायनको क्रम बढिरहेकोले राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्यालले व्यवसायहरुबाट सरकारले कर असुल गर्ने तर उनीहरुको मर्काका विषयमा मौन बस्ने गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सचिव केशव श्रेष्ठ, रुपन्देही जिल्ला अध्यक्ष गोपाल बस्याल, प्याव्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्य, सल्लाहाकार राजेन्द्र लिगल र मुक्ति न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

महासंघ पाल्पाका अध्यक्ष किशोर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष भेषराज पोख्रेलको स्वागत र सचिव तारा सुनारीको सञ्चालनमा चलेको थियो । सोही अवसरमा महासंघलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुसहित सल्लाहाकार मुक्तिप्रसाद न्यौपाने र इमान सिं रानालाई सम्मान गरिएको नवनिर्वाचित सचिव विष्णु खनालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर