मदनपोखरा संगम र लुमेक बिच छुट सुविधामा सम्झौता

पाल्पा । मदनपोखरा संगम बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड तानसेन – ९ टिन्टीआँप र लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पताल बिच स्वास्थ्य उपचारमा छुट सुविधा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।

सहकारीले आफ्ना शेयर सदस्यहरु र निजमा आश्रीत परिवारका सदस्यहरुको स्वास्थ्य उपचार सेवामा लाग्ने शुल्कको छुट सम्बन्धी विषयमा अस्पतालका कार्यकारी अध्यक्ष गोपाल पोखरेल र सहकारीका अध्यक्ष घनश्याम घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । ५ वर्षका लागि गरिएको सम्झौतामा १० बुँदा समाबेस गरिएको छ ।

सम्झौता भएको मितिदेखि सहकारीका शेयर सदस्यले अस्पतालमा उपचार गराउँदा ओपिडी दर्ता शुल्क निशुल्क हुने छ । यसका साथै शेयस सदस्यले साधारण बेड शुल्कमा ५० प्रतिशत, सघन उपचार बेड शुल्कमा १० प्रतिशत, साधारण प्रयोगशाला परीक्षणमा २० प्रतिशत , रेडियोलोजिकल परीक्षणहरु एक्सरे, भिडियो एक्सरे र म्यामोग्राफीमा २० प्रतिशत, शल्यक्रिया शुल्क (औषधि र प्रत्यारोपण बाहेक) मा २० प्रतिशत, दन्त चिकित्सा सहित विषेश परीक्षण (औषधि र प्रत्यारोपण बाहेक) मा १० प्रतिशत, सामान्य दाँत परीक्षण र दाँत झिक्नेमा १० प्रतिशत, मुख तथा अनुहारको शल्यक्रिया (औषधि र प्रत्यारोपण बाहेक) मा २० प्रतिशत छुट प्राप्त गर्नेगरी उपचार सेवामा सम्झौता भएको सहकारीका अध्यक्ष घनश्याम घिमिरेले बताउनुभयो ।

सम्झौता अनुसार शेयर सदस्यमा आश्रीत परिवारहरुले भने ओपिडी दर्ता शुल्कमा ५० प्रतिशत, साधारण बेड शुल्कमा २५ प्रतिशत ,सघन उपचार बेड शुल्कमा ५ प्रतिशत, साधारण प्रयोगशाला परीक्षणमा १० प्रतिशत , रेडियोलोजिकल परीक्षणमा १० प्रतिशत शल्यक्रिया शुल्क (औषधि र प्रत्यारोपण बाहेक) मा मा १० प्रतिशत छुट , दन्त चिकित्सा सहित विषेश परिक्षण (औषधि र प्रत्यारोपण बाहेक) मा १० प्रतिशत र सामान्य दाँत परिक्षण र दाँत झिक्नेमा १० प्रतिशत छुट प्राप्त गर्ने सहकारीका अध्यक्ष घिमिरेले बताउनुभयो ।

अस्पतालका अध्यक्ष पोखरले अस्पतालको सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत हुने उपचार छुट सेवामा परिस्थिति अनुसार सम्झौता पत्रमा उल्लेखित सेवाग्राहीहरुको पारिवारको आर्थिक अवस्था नाजुक भएको अवस्थामा आपसि सहमतिमा थप छुट सुविधा उपलब्ध गराउन सकिने बताउनुभयो । उहाँले सुविधा प्राप्तिको लागि उपचार अवधि भित्रमा संस्थाको शेयर सदस्य रहेकोे परिचय पत्र आवश्यक पर्ने बताउनुभयो । कलेजमा स्वास्थ्य बीमा लागु भएको खण्डमा र शेयर सदस्यको स्वास्थ्य बीमा भएको समयमा भने सम्झौता क्रियाशील नहुने अस्पतालले जनाएको छ । यसैगरी अस्पतालले तानसेन ७ मा रहेको नव युग कृषि सहकारी संस्थासंग पनि स्वास्थ्य उपचार सेवामा छुट उपलब्ध गराउने गरी सम्झौता गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय