माथागढीकाे पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पाल्पा । माथागढी गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ ।

गाउँपालिकाको आयोजनामा बिहीबारदेखि माथागढी ३ सराइ खेल मैदानमा सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने छ । शनिबार सकिने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य आचार्यले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा गाउँपालिकाले पर्याप्त लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले यसका लागि आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने बताउनुभयो । प्रतिनिधिसभा सदस्य आचार्यले प्रतियोगितामा सहभागी खेलाडी अनुशासीत रुपमा खेलेर उत्कृष्ट नतिजा प्राप्त गरी विद्यालयलाई चिनाउन आग्रह गर्नुभयो । उहाँले खेल क्षेत्रबाट आत्मनिर्भर हुने र व्यवसायिक खेल खेल्ने गरी आफूलाई तयार गर्न खेलाडीलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले खेल क्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान हुने बताउनुभयो । उहाँले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई इमान्दारपूर्वक स्वच्छ प्रतिस्पर्धा गरेर आफ्नो र विद्यालयको नाम राख्नुपर्ने बताउनुभयो । जसका लागि आवश्यक वातावरण तयार गर्ने विद्यालय र गाउँपालिकाले पर्याप्त चासो दिनुपर्नेमा समेत जोड दिनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले प्रतियोगिताले विद्यार्थीहरुमा लुकेर रहेको क्षमता प्रदर्शन हुने बताउनुभयो । उहाँले आफ्नो क्षमता अनुसार लगनशील भएर खेललाई निरन्तरता दिनुपर्ने समेत बताउनुभयो ।

माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले राष्ट्रको लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई गाउँपालिकाले आत्मसाथ गरेर अगाडि बढेको बताउनुभयो । उहाँले शारीरिक र मानसिक रुपमा सवल र सक्षम व्यक्तिले अन्य गतिविधि प्रभावकारी रुपमा सम्पादन गर्न सक्ने भएकोले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरिएको बताउनुभयो । सम्भावना अनुसार गाउँपालिकाले स्वास्थ्यलाई ध्यानमा राखेर खेलकुदमा आकर्षित गर्न गतिविधि गर्दै आएको अध्यक्ष चिदीले बताउनुभयो । जस अनुसार सबै वडामा खेल मैदान र खेलकुदलाई प्राथमिकता दिइएको जानकारी गराउनुभयो । माथागढीमा रहेको खेलमैदानको सम्भावनालाई ध्यानमा राखेर जिल्लाकै नमुना खेल मैदान निर्माणका लागि संघ र प्रदेश सरकारसंग समन्वय र सहकार्यमा काम गर्न चाहेको अध्यक्ष चिदीको भनाइ थियो ।

प्रतियोगिताको उद्घाटन सत्रमा पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्मा, माथागढी ३ का वडाध्यक्ष तेजबहादुर घर्तीमगर, जिल्ला खेलकुद विकास समिति पाल्पाका अध्यक्ष दीपक घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतले पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

प्रतियोगितामा १६ विधाका ५४ खेलमा ५ सय ८५ विद्यार्थीले भाग लिएका छन । प्रतियोगिताको उद्घाटन सत्रकाे कार्यक्रम दिव्य ज्योति माध्यमिक विद्यालयका प्रद्यानाध्यापक लाेकेन्द्र थापाकाे सञ्चालन, माथागढी गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेको स्वागत तथा अध्यक्ष चिदीको अध्यक्षतामा चलेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय