लुमेकमा स्वास्थ्य बिमा सुरु हुँदै

पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभासमा स्वास्थ्य बिमा कार्यक्रम पुन लागु हुने भएको छ ।

स्वास्थ्य बिमा बोर्डले कलेजलाई सेवा प्रदायक स्वास्थ्य संस्थाको रूपमा सूचीकृत गर्ने निर्णय गरेसँगै करिब साढे एक वर्ष बन्द अवस्थामा रहेको स्वास्थ्य बिमा कार्यक्रममार्फतको सेवा कलेजमा सुरु हुने भएको हो ।

बोर्डको गएको आइतबार बसेको बैठकले कलेजलाई स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न सूचीकृत गरेको हो । बिमा बोर्डले भुक्तानीमा ढिलाई गरेको भन्दै कलेजले २०७९ को साउनमहिनादेखि स्वास्थ्य बिमा अन्तरगतको उपचार सेवा स्थगन गरेको थियो । सरकारले आर्थिक वर्ष ०७९÷८० को बजेटमा उल्लेख भए अनुसार सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बिमा कार्यक्रममार्फत सेवा दिइने विषयलाई कार्यान्वयन गर्दै बोर्डले कलेजलाई सेवा प्रदायकको सूचीबाट हटाएको थियो ।

पाल्पाका ठूला अस्पतालमा स्वास्थ्य बिमाको सेवा बन्द हुँदा नागरिकले स्वास्थ्य सेवाका लागि दुःख पाएका थिए । सुविधाका लागि स्वास्थ्य बिमा गरेकाहरुले आवश्यक उपचार सेवा सरकारी अस्पतालबाट मात्र प्राप्त गर्न नसक्ने अवस्था आएपछि अहिले स्वास्थ्य बिमा नविकरण गर्नेको संख्यामा समेत कमी आएको छ । ठूला अस्पतालहरुमा स्वास्थ्य बिमा बन्द भएपछि मर्कामा परेका नागरिकको सहजताका लागि सेवा सुचारु गराउन संघीय सांसद ठाकुरप्रसाद गैरे र नारायणप्रसाद आचार्यले निरन्तर पहल गरिरहनुभएको थियो । जसका लागि जिल्लाका राजनीतिक दल, नागरिक समाज तथा अन्य सम्पूर्ण सरोकारवालाहरुले सघाउँदै आएका थिए । लामो समयको पहल, छलफल पछि कलेज सेवा प्रवाहका लागि सूचिकृत भएको छ । अझैपनि युनाइटेड मिसन अस्पतालमा बिमा सेवा सञ्चालन हुने निश्चित भएको छैन । कलेजमा मात्रै सेवा सुरु हुने खबरले जिल्लावासी खुसी भएका छन् । मिसन अस्पतालले बिमामार्फत् सेवा दिने वातावरण तयार भए सेवा सुचारु गर्न इच्छुक रहेको जनाएको छ ।

सेवा प्रवाहका लागि सूचीकृत भएको खबर प्राप्त भएकोले केही दिनमै सम्झौता गरेर स्वास्थ्य बिमा कार्यक्रम लागु गरिने कलेजका कार्यकारी अध्यक्ष गोपाल पोखरेलले जानकारी दिनुभयो । उहाँले आमनागरिकको सहज स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माणका लागि कलेज सधै तत्पर रहेको समेत बताउनुभयो । सम्झौता अनुसार काम गर्न कलेज तयार रहेको र सेवा सुचारु हुने वातावरण निर्माणमा भूमिका खेल्ने सम्पूर्णमा धन्यवाद समेत कार्यकारी अध्यक्ष पोखरेलले व्यक्त गर्नुभयो ।

सूचीकृत भएका स्वास्थ्य संस्थामा सरकारी अस्पतालमा सेवा उपलव्ध नहुने अवस्था मात्र रिफर सेवाको लागि मात्रै हुने छ । यस्तै सूचीकृत हुने अस्पतालहरुले एक सय शैयासम्म भए सातामा १ दिन, २ सय शैयासम्मको भए सातामा २ दिन र ३ सय शैयासम्म वा सो भन्दा बढी भए हप्तामा तीन दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालहरुमा नियमित बहिरङ विशेषज्ञ सेवा उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ ।

सम्बन्धित खवर