
पाल्पा । पाल्पामा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस तानसेनमा मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले जलपान कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका उप–प्राध्यापक महेन्द्र पन्थीले राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको योगदानको बारेमा चर्चा गर्नुभयो । शाहाले चालेको एकीकरण अभियानकै कारण हामी स्वाभिमानी नेपाली भएर बाच्न पाएको उप–प्राध्यापक पन्थीले बताउनुभयो । शाहाको दिव्य उपदेशहरु अहिले पनि परराष्ट्र नीतिमा लागु हँुदै आएको, अर्थनीतिमा समय सापेक्ष रहेको, भष्ट्रचार विरुद्धको अभियानमा घुस लिने दिने दुबै राष्ट्रका शत्रु हुन् भनेर दिएका उपदेश कार्यान्वय भए देश विकास छिटो उहाँको भनाइ थियो ।
कार्यक्रममा सहभागीहरुले राष्ट्र निर्माता पृथ्वी नारायण शाहालाई गलत तरिकाबाट व्याख्या गरेर देश भित्र र बाहिर जनतामा भ्रम सिर्जना गर्ने, दुस्प्रचार गर्ने काम भइरहेकोमा चिन्ता व्यक्त गरेका थिए । राष्ट्र निर्माता तथा नेपाल एकताका सुत्रधार पृथ्वी नारायण शाहको योगदान र भूमिका र इतिहासको बारेमा सरकारले नै जिल्ला जिल्लामा कार्यक्रम गरेर मनाउनु पर्नेमा सरकारले एक दिन विदा दिएर जिम्मेबारीबाट उम्कीएको उप–प्राध्यापक पन्थीले बताउनुभयो ।
कार्यक्रममा राप्रपाका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य नारायण कोइराला, लुम्बिनी प्रदेश सदस्य खेमबहादुर सारु, जिल्ला अध्यक्ष डुलबहादुर कुवँरलगायतले पृथ्वीनारायण शाहालाई देश तथा राष्ट्र निर्माताको रुपमा सबैले मान्ने, उनका उपदेशहरुलाई राज्यले कार्यान्वयन गर्दै जाने, हामी नेपाली हौं भन्नेमा गर्व बोध गराउने अभियानमा सबै पार्टी, जनताहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा भएको कार्यक्रममा जिल्लाका राजनीतिक दल, जनप्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, नागरिक समाजका क्रियाशील व्यक्तिहरुको उपस्थिति रहेको राप्रपा पाल्पाका सचिव हरिप्रसाद बस्याल जानकारी दिनुभयो ।