रामपुरकाे नगर सभाकाे १४ औँ अधिवेशन सम्पन्न

पाल्पा । रामपुर नगरपालिकाको नगर सभाको १४ औँ अधिवेशन सम्पन्न भएको छ । सभाले स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन सर्वसम्मत रुपमा पारित गरेको छ । यस्तै सभाले विभिन्न योजनाको बजेट रकमान्तर र शिर्षकान्तर, ऐन तथा कार्यविधि पारित एवं विभिन्न समिति समेत पुनरगठन समेत गरेको छ ।

सभाले वडा तथा नगरस्तरीय ६३ वटा योजनाको रकमान्तर तथा शिर्षकान्तर गरेको छ । रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले प्रस्तुत गर्नु भएको बजेट रकमान्तर र शिर्षकान्तर सभाले सर्वसम्मत रुपमा पारित गरेको हो । यस्तै न्यायिक समितिको कार्य विधि सम्बन्धि ऐन २०७५ संशोधन सहित पारित गरेको छ ।

सभामा नगर सभाका सदस्य तथा विधेयक समिति सदस्य दिनेश आचार्यले प्रस्तुत गर्नु भएको स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन र न्यायिक समितिको कार्यविधि संशोधन सहित सर्वसम्मत रुपमा पारित गरिएको हो । यस्तै लेखा समिति संयोजक दामोदर पाठकले सभामा वेरुजु संपरिक्षण प्रतिवेदन पारित गरेको रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिल बहादुर खाँणले बताउनुभयो ।

अधिवेशनले विभिन्न समिति सर्वसम्मत रुपमा चयन गरेको छ । सभाले तेज बहादुर रानाको संयोजकत्वमा ५ सदस्यीय लेखा समिति गठन गरेको छ । जसको सदस्यमा मदन खाँण ठकुरी, हरिनाथ ढुंगाना, कमला देवी रुचाल र नरेन्द्र कुमार जर्घालाई सर्वसम्मत रुपमा चयन गरेको छ । यस्तै मिन बहादुर सिंजालीको संयोजकत्वमा विधायन समिति गठन गरेको छ । सदस्यमा विष्णुमाया गैह्रे , मोहमद अजिम शेख , सुमित्रा वर्मेली सार्की , र नारायण चन्द ठकुरीलाई चयन गरेको छ । यसैगरी मोहन सिं रानाको संयोजकत्वमा अनुगमन तथा सुशासन समिति गठन गरेको छ । जसको सदस्यमा युवराज शाही , थममाया नेपाली दर्जी , मिठ्ठुमाया सुनार र गोप बहादुर रानालाई सर्वसम्मत चयन गरेको छ ।

सभामा पेश भएको बजेट रकमान्तर शिर्षकान्तरको विषयमा बोल्दै नगर प्रवक्ता कपिल बहादुर खाँणले विद्यालयको अनुगमनको शिर्षक प्रष्ट उल्लेख सहित संशोधन माग गर्नु भएको थियो भने सबै शिर्षकान्तर भएका योजनाको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । सभामा उठेका प्रश्न र प्रस्ताव बारे सभाध्यक्ष एवं नगर प्रमुख रमण बहादुर थापाले हरेक योजना तथा ऐन कार्यान्वन गर्दा विधि संवत रुपमा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नगरको समुचित विकास र समृद्धिका लागि बजेटको कार्यान्वयन र पारदर्शीतामा सबैले ध्यान दिन आवश्यक रहेको बताउनु भएको सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डित जानकारी दिनुभयो ।

सम्बन्धित खवर