२८ मिनेटमा सकियो तानसेनको नगर सभा

पाल्पा । तानसेन नगरपालिकाको नगर सभाको १४ औ अधिवेशन २८ मिनेटमा सकिएको छ ।

सभामा कार्यसूचि अनुसार विधायन समितिका संयोजक महेश्वर श्रेष्ठलाई तानसेन नगरपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक २०८० छलफलका लागि पेश गर्न सभाध्यक्ष तथा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले अनुमती दिनुभएको थियो । प्रस्तुत विधेयक माथि समाभा एक सदस्य माधव बस्यालले मात्र बोल्नुभएको थियो । उहाँले फरक फरक प्रकृती र विषयगत क्षेत्रका संघसंस्थाको दर्ता तथा नियमन प्रक्रिया फरक हुनुपर्नेमा जोड दिनुभयो । उहाँको भनाइ संगै संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक २०८० पारित गरिएको थियो ।

यस्तै सभामा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले चालु आर्थिक वर्ष २०८०÷८१ को प्रथम ६ महिनामा सम्पादन गरेको न्यायीक समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँले प्रतिवेदन पेश गर्दै वडास्तरबाट उजुरी तथा विवादको निरुपण गर्ने काम हुने गरेकाले न्यायीक समितिमा विवादका उजुरीको संख्या कम दर्ता हुन थालेको बताउनुभयो ।

नगर उपप्रमुख सिंजालीले चालु आर्थिक वर्षमा २८ वटा विवादहरु दर्ता भएकोमा १७ वटा मिलापत्र गराइएको, ४ वटा जिल्ला अदालत पठाइएको र ७ वटा छलफलको क्रममा रहेको सभामा जानकारी गराउनुभयो । यसका साथै सभामा नगर कार्यपालिकाले गरेका स्रोतान्तरसहितका विभिन्न निर्णयहरु सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी गराउनुभयो ।

विशेषगरी समग्र नगरपालिकाको कार्यसम्पादनको प्रगतिका विषयमा अर्धवार्षिक समीक्षा हुनुपर्ने सभामा यो विषय कार्यसूचिमै समावेस थिएन । यसका साथै सभामा नियमअनुसार सदस्यहरुलाई बोल्नका लागि शून्य समयको व्यवस्था गरिनुपर्ने भएपनि यस विषयमा सभाध्यक्षको ध्यान पुग्न नसकेको सभाका सदस्यहरुले गुनासो गरेका थिए ।

सम्बन्धित खवर