पाल्पा । पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्मा जिल्ला अदालत पाल्पाबाट सम्मानित हुनुभएको छ ।
अदालतबाट सजाय तोकिएका वर्षौदेखि फरार प्रतिवादीलाई पक्राउ गरेर फैसला कार्यान्वयनमा सघाएको भन्दै अदालतले प्रमुख शर्मालाई सम्मान गरेको हो । जिल्ला बाल न्याय समितिको बैठकका अवसरमा जिल्ला न्यायाधीश कमलराज विष्टले प्रमुख शर्मालाई प्रशंसापत्र सहित सम्मान गर्नुभएको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा २३ जनालाई कैद जरिवाना गरिएको रेकर्ड छ । विगतका आर्थिक वर्षहरूमा भन्दा यस वर्ष धेरै फरार अभियुक्तहरू पक्राउ परेको तहसिलदार भेषराज खनालले बताउनुभयो । प्रहरीले चालु आर्थिक वर्षको साउन १ गतेदेखि पुस २३ गतेसम्म विभिन्न मुद्दाका २३ जना पक्राउ गरी १ लाख ५३ हजार ४ सय जरिवानासमेत असुल गरेको छ । अदालतको फैसलाअनुसार पक्राउ परेका सबैले २ वर्ष ८ महिना ६ दिन कैद सजाए भोग्नुपर्ने छ । विशेषगरी बहुविवाह, चोरी, चेक अनादर, अभद्र व्यवहार, बाल यौन दुरुपयोग, सवारी ज्यान, लागुऔषध, गाली बेइज्यती, नागरिकता, हातहतियार तथा खरखजना, केही सार्वजनिक अपराध मुद्दाका प्रतिवादी पक्राउ परेको तहसिलदार खनालले भनाइ छ ।
प्रहरीले आर्थिक वर्ष २०७९/०८० मा जम्मा ९ जना फरार अभियुक्तलाई पक्राउ गरेको थियो । जसमा भ्रष्टाचार, अभद्र व्यवहार, सवारी ज्यान, चोरी, बहुविवाह, बन जस्ता मुद्दा रहेका छन् । अभियुक्त पक्राउ परेसँगै ४ वर्ष २ महिना १२ दिन कैद भुक्तान कार्यान्वयनमा आएको छ । जहाँ २५ हजार जरिवाना असुली भएको छ ।
प्रहरी प्रमुख शर्माले फरार व्यक्तिहरूको कैद, जरिवाना र सरकारी बिगो असुलउपर गर्ने कार्यमा आफूहरुले उच्चतम सफलता प्राप्त गरेकोमा उच्च मूल्याङ्कन गरी सम्मान गरेकोमा जिल्ला अदालतप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सिमित साधन, स्रोत र जनशक्तिका बिच पनि आफूहरुको अदालतको फैसला कार्यान्वयनमा सक्रिय रहेको बताउनुभयो ।