पाल्पा । बगनासकाली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफ्टी’मार्फत वितरण गर्न थालेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि ‘इएफ्टी’मार्फत भत्ता वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभयो । ‘इएफ्टी’ सेवा सुरु भएपछि लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा पठाइएको छ ।
सम्झौता अनुसार नेपाल बैंक लिमिटेडमा रहेको सम्बन्धित लाभग्राहीको खातामा रकम पठाइएको अध्यक्ष चिदीले बताउनुभयो । यसअघि सरकारले पठाएको पैसा बैंकले लाभग्राहीको खातामा जम्मा गरिदिने गरेकोमा अब गाउँपालिकाले सिधै पैसा पठाउनेछ । यस आर्थिक वर्षको दोस्रो त्रैमासिकमा गाउँपालिकाले ३ हजार १ सय ५५ लाभग्राहीलाई ३ करोड १२ लाख ६८ हजार ९२ रुपैयाँ रकम ‘इएफ्टी प्रणालीमार्फत वितरण गरेको छ ।
दोस्रो त्रैमासिकमा गाउँपालिकामा जेष्ठ नागरिक ६८ वर्षमाथि १ हजार ९ सय २० जना, ज्येष्ठ नागरिक दलित १ सय ३७, जेष्ठ नागरिक एकल २ सय ९७ जना रहेका छन् । यसैगरी विधवा आर्थिक सहायता ४ सय २४ जना, पूर्ण अपाङ्गतातर्फ ४७, ख वर्ग आर्थिक सहायता १ सय ८ र दलित बालपोषणतर्फ २ सय २२ जना रहेको प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले बताउनुभयो ।
चालु आर्थिक वर्षमा बगनासकाली गाउँपालिकाले सवैभन्दा अगाडि सामाजिक सुरक्षा भत्ता वितरण कार्य अगाडि बढाएको छ । गाउँपालिकाले विगतका वर्षदेखिनै वडातहमा पुगेरै सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई पथमिकताका साथ अगाडि बढाउँदै आएको थियो । ‘इएफ्टी’ सेवा सुरु भएपछि लाभग्राहीले प्रविधिमैत्री, छिटोछरितो र सहज सेवा प्राप्त गर्नेछन । विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्ने गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले बताउनुभयो ।