कृषकलाई अनुदानमा तरकारीको बीउ वितरण

पाल्पा । रामपुर नगरपालिकाले कृषकहरुलाई अनुदानमा हिउँदे तरकारीको बीउ वितरण गरेको छ । सोमबार एक कार्यक्रमका बिच कृषक तथा कृषि समूहलाई ५० प्रतिशत अनुदानमा लहरे तरकारीको बीउ वितरण गरेको हो ।

कृषकहरुलाई बीउ वितरण गर्दैै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउनका लागि अनुदानमा बीउ वितरण गरिएको बताउनुभयो । उहाँले कृषकलाई व्यवसायिक र आत्मनिर्भर बनाउन प्रोत्सहानका लागि ५० प्रतिशत अनुदानमा बीउ विजन वितरण गरेको बताउनुभयो । सकेसम्म व्यवसायीक कृषक तयार गर्न र नसके आफूलाई आवश्यक तरकारी आफै उत्पादन गर्नसक्ने बनाउनका लागि अनुदानको कार्यक्रम गरिएको नगर प्रमुख थापाको भनाइ थियो ।

नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत तेलहन तथा तरकारीको बीउ ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले जानकारी दिनुभयो । साथै वितरण गरिएको बीउबाट राम्रो उत्पादनका लागि नगरपालिकाले प्राविधिक सहयोग तथा परामर्श दिने बताउनुभयो । उहाँले कृषकको उत्पादनको आधारमा मूल्यांकन गरेर विभिन्न अनुदानका कार्यक्रममा कृषकलाई सहभागी बनाइने समेत बताउनुभयो ।

कृषकको मागको आधारमा ६ लाख ९७ हजार ३ सय ३२ रुपैयाँ बराबरको काँक्रा , लौका , घिँरौला , तिते करेला, टमाटर, भिण्डी, टनेबोडी , घ्यू सिमी जातका तरकारीको बीउ वितरण गरिएको कृषि जेटिए युवराज नेपालीले जानकारी दिनुभयो । यो कार्यक्रम अन्तर्गत १ सय ५४ जना कृषक तथा कृषि समूहलाई बीउ वितरण गरिने र पहिलो दिन ६० जना कृषकलाई वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

सम्बन्धित खवर