सेवा प्रभावकारी बनाउन सुझाव लिँदै माथागढी

पाल्पा । माथागढी गाउँपालिकाले सेवा प्रवाह र नागरिकका अपेक्षा बारे सबै वडा कार्यालयहरुमा पुगेर बुझ्ने काम गरेको छ ।

गाउँपालिकाले सार्वजनिक सुनुवाइ मार्फत सबै वडाका जनताले पालिकाको कार्यसम्पादनका विषयमा गरेको प्रश्न, गुनासो र सुझाव सुनेको हो । प्राप्त सुझावलाई आत्मसाथ गरेर नागरिकले महसुस गर्नेगरी कामलाई प्राथमिकता दिने प्रतिबद्धता समेत जनाएको छ ।

गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले आफ्नो कार्यकालको करिब डेढ वर्ष पूरा हुँदा नागरिकले गरेको अनुभव र अपेक्षाका विषयमा जानकारी लिन सबै वडामा सार्वजनिक सुनुवाइ गरिएको बताउनुभयो । नागरिकको प्रश्न, सुझाव र गुनासोको प्राप्त नतिजाका आधारमा गाउँपालिकाले सम्बोधन हुनेगरी योजना निर्माण र कार्यशैलीमा सुधार गर्नका लागि सार्वजनिक सुनुवाइले यर्थाथ अवस्था पत्ता लाग्ने उहाँले बताउनुभयो । सकेसम्म सबै वडामा पुगेर नागरिकहरुको गुनासो सुन्ने र सुधारका लागि उहाँहरु बाटै सुझाव समेत प्रत्यक्ष रुपमा सुन्ने उद्देश्यले गरिएको कार्यक्रम अत्यन्त प्रभावकारी भएको अध्यक्ष चिदीको भनाइ छ ।

गाउँपालिकाका ८ वडामध्य १ नंं वडा चिदीपानी बाहेक अन्य ७ वटा वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले बताउनुभयो । उहाँले गाउँपालिका भित्रका करिव ६ सय नागरिकसंग प्रत्यक्ष रुपमा सेवा प्रवाहका विषयमा जिज्ञासा, गुनासो र सुझाव ग्रहण गरिएको बताउनुभयो । गाउँपालिकाले सार्वजनिक सुनुवाइसंगै अघिल्लो वर्षको कार्य प्रगति समीक्षा समेत गरिएकोले नागरिकले अहिलेसम्म भैगरेका काम सन्तोषजनक भएपनि अझ गर्नुपर्ने धेरै कामका विषयमा सुझाव व्यक्त गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले बताउनुभयो । सुझाव अनुसार आगामी योजना तथा कार्यक्रम केन्द्रीत गरिने उहाँको भनाइ छ ।

सुनुवाइ कार्यक्रममा वडा नं. २ अमराईका हरिबहादुर घर्तीले योजना सञ्चालन गर्दा उपभोक्ता समितिले काम गरे अनुसारको मुल्यांकन नहुने गुनासो गर्नुभयो । वडा नं. ३ का गणेश बहादुर चिदीले बस्ती बढ्दै गएको र सोही अनुसार फोहर व्यवस्थापनमा पनि गाउँपालिका र वडा कार्यालयले ध्यान दिनुपर्ने सुझाव राख्नुभयो । त्यस्तै वडा नं. ४ का अर्जुन कार्कीले कृषि क्षेत्रमा व्यवसायिक काम गर्नेहरुलाई गाउँपालिकाले अनुदान र सेवा सुविधाको प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । वडा नं. ५ का टेक बहादुर रेश्मीले हात्तिलुङ क्षेत्रमा मोबाइल नेटवर्कले काम नगर्ने भएकाले नागरिकलाई सञ्चारको पहुँचबाट टाढा रहनुपर्ने वाध्यता रहेकोले समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

वडा नं. ६ का बुद्धिबहादुर ढेंगाले ठेकेदारले काम गर्दा योजना पास हुने उही काम उपभोक्ताले गर्दा नहुने र सबै प्रक्रिया पुगेपछि पनि लेखा शाखामा काम ढिला हुने गुनासो गर्नुभयो । वडा नं. ७ का नेत्र प्रसाद थापाले जनप्रतिनिधिहरुले जनताको काम रोकिने गरी कार्यालयमा समय नदिएको भन्दै सुधार गर्न अनुरोध गर्नुभयो । वडा नं. ८ बहादुरपुरका राजेश कुमार नेपालीले अग्रीगौंडा चनौटा सडक सम्पन्न गर्न नसकेको भन्दै त्यसको सुधार भएमा यहाँका नागरिकको कृषि उत्पादन बजार पुग्न सक्ने बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चेले अन्य पालिकाहरुले वर्षमा एक पटक पनि सार्वजनिक सुनुवाइ नगरेका समाचारहरु सुनिँदै आएपनि माथागढीले सबै वडाहरुमा र पालिकामा समेत सार्वजनिक सुनुवाइ गरेर जनताका जुनासा सुन्ने असल अभ्यास गरेको बताउनुभयो । गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले नागरिकहरुले गरेको गुनासो, प्रश्न र सुझावलाई आत्मसाथ गर्दै थप जवाफदेही हुने प्रयास गर्ने बताउनुभयो ।

वडा कार्यालयमा भएका कार्यक्रमहरुमा सहभागीले स्वास्थ्य सेवा, रोजगारी, उपभोक्ता समिति, शैक्षिक पूर्वाधार, उत्पादनमूखी शिक्षा, पर्यटन, नाली तथा सडक व्यवस्थापन, कृषि, पशुपालन, योजना प्रक्रिया, भुक्तानी प्रक्रिया, लक्षित वर्गका योजना, खानेपानी, बस्ती विकास, फोहरमैला व्यवस्थापन, सूचना तथा सञ्चारलगायतका विषयमा प्रभावकारी काम गर्न सुझाव राखेका थिए

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय