
पाल्पा । पाल्पा जेसीजको ४३ औं पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२४ का लागि सामाजिक अभियन्ता अर्जुन कार्कीको नेतृत्वमा पाल्पा जेसीजको पदस्थापन भएको हो ।
गत डिसेम्बर १ मा सर्वसम्मत चयन भएको समितिको शनिवार पद हस्तान्तरण भएको हो । वर्ष २०२३ का अध्यक्ष सुनिलकुमार बस्यालले वर्ष २०२४ का अध्यक्ष कार्कीलाई पद हस्तान्तरण गर्नुभएको हो ।
यसका साथै जेसीजका १६ जना पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । वर्ष २४ का लागि निवर्तमान अध्यक्ष सुनिलकुमार बस्याल, कार्यकारी उपाध्यक्ष गणेश पन्थी, महेश खनाल, कानुनी सल्लाहकार विवेककाजी शाक्य, महासचिवमा विजय कार्की, कोषाध्यक्ष करन चित्रकार, उपाध्यक्षहरु सतिशराज शाक्य, विक्रम सिंह, कला दाहाल, मुकेश जिसी, सह–सचिवमा सुमन बस्याल, शाखा सम्पादक प्रकाश कार्की, प्रकरण निर्देशक प्रियंकर मुनी शाक्य, जनसम्पर्क अधिकारीमा निजाम दिन मिया, तालिम संयोजकमा बालकृष्ण बस्याल चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक धिरजबहादुर बज्राचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कार्कीले युवाहरूको मन मस्तिष्कमा बस्न र समाज परिवर्तनको लागि नयाँ कार्य योजना तयार गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले युवाहरूको साथ लिएर जेसीजको मर्म अनुसार व्यक्ति, परिवार, समाज र राष्ट्रको विकासमा टेवा पुग्ने कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसका साथै वर्ष २०२४ लाई सार्थक बनाउनका लागि “इन्सपायर युथ” प्रकरण प्रमुख अतिथिबाट अनावरण गराएको जानकारी दिनुुभयो । पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले वर्ष २०२४ का लागि चयन भएको कार्की नेतृत्वको नयाँ समितिलाई बधाई ज्ञापन गर्दै आफू सँधै जेसीजसँग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विधि प्रक्रिया र पद्धतीमा चल्ने जेसीज उद्देश्य अनुसार समाज र मुलुकमा देखिएका विकृति, विसंगतीका विरुद्ध सशक्त ढंगले अगाडि बढ्न नयाँ नेतृत्वलाई आग्रह समेत गर्नुभयो । मानवमा मात्र सीमित नरहेर महामानवको परिचय स्थापित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । युवाहरु स्थिर भएर गन्तव्यमा पुग्ने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । युवाहरुको बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बचाइ राख्न र युवाहरुलाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि रचनात्मक क्रियाकलाप गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले युवाहरु क्रियाशील र रचनात्मक हुनुपर्ने बताउनुभयो । उहाँले जेसीजमा क्षमता विकासका सम्भावना धेरै हुने भएकोले भाषण मात्र नभएर क्षमता विकासका कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । जेसीजको गतिशीलता अनुसार स्थानीय सरकारको तर्फबाट सहयोग उपलब्ध गराउने उहाँको भनाइ थियो ।
पाल्पा जेसीजका संस्थापक अध्यक्ष छत्रराज शाक्यले स्थापनाको ४३ वर्ष पूरा गर्दासम्म जीवन्त रहेर काम गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सुरुका समयदेखि नै कार्य योजना निर्माण गरेर काम गर्ने परिपाटीले संस्थामा युवा आकर्षण बढेको स्मरण गराउनुभयो । असल चरित्रको नागरिक तयार गर्न व्यक्तित्व विकासका लागि आवश्यक क्षमता विकासका गतिविधि जेसीजले गर्दै आएको संस्थापक अध्यक्ष शाक्यले बताउनुभयो ।
नेपाल जेसीजका वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष गणेश सापकोटा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा जेसीज वर्ष २०१२ का राष्ट्रिय उपाध्यक्ष शैलेन्द्र भट्टराईलगायतले कम उमेर समूहका युवाहरुलाई संगठित गराउने संस्था जेसीज रहेको बताउनुभयो । उहाँहरुले व्यक्तित्व विकास, समुदायको हित, व्यवसाय र राष्ट्र निर्माणमा युवाहरुको क्षमता अभिवृद्धि गर्दै आएको बताउँदै नयाँ नेतृत्वले यहीँ मर्म अनुसार आफ्ना कार्यक्रम केन्द्रीत गर्न आग्रह गर्नुभयो ।