पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाको नयाँ भवन तथा अन्य भौतिक संरचनाको उद्घाटन गरिएको छ । नेपाल सरकारको छ करोड ९५ लाखमा भान्सा घर, स्नान घर, शौचालय, हिरासत कक्ष, व्यारेक तथा प्रहरी प्रमुख र प्रहरी अधिकृतको भवन बनेको हो ।
आइतबार तानसेनमा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरीको नयाँ भवनसहित अन्य पूर्वाधारको संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रममका अवसरमा महानिरीक्षक कुँवरले नयाँ भवन निर्माण भएसंगै प्रहरीको सेवा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आवश्यक पूर्वाधार निर्माण भएपछि शान्ति, सुरक्षा तथा आवश्यक कार्यसम्पादनमा सहज हुने बताउनुभयो ।
शान्ति सुरक्षा कायम गर्न प्रहरीसहित आम नागरिक समाजको भूमिका महत्वपूर्ण रहने महानिरीक्षक कुँवरले बताउनुभयो । उहाँले स्थानीय, प्रदेश सरकारसँग मिलेर कुलतमा फसेका र अप्ठेरोमा परेका नागरिकको सेवाका लागि प्रहरीले योजना बनाइरहेको र कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहने बताउनुभयो ।
भवन उद्घाटन कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले प्रहरीलाई कुनै राजनैतिक हस्तक्षेपविना चल्न दिनुपर्नेमा जोड दिनुभयो । नेपाल प्रहरी विश्वमै उत्कृष्ठ प्रहरीको रुपमा स्थापित भएको भन्दै उहाँले प्रहरीलाई सुबिधासम्पन्न बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले प्रहरीलाई प्रविधिमैत्री बनाउन सके अपराध तथा अनुसन्धानमा सफलता मिल्ने बताउनुभयो । नयाँ भवन बनेपछि प्रहरीको सेवा थप प्रभावकारी बन्ने र जिल्लामा शान्तिसुरक्षा सुदृढ हुने उल्लेख गर्नुभयो । कार्यक्रमका अवसरमा उत्कृष्ठ सेवा गर्ने प्रहरी अधिकृत तथा जवान, निर्माण व्यवसायी तथा विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो ।
भाँडाको घर तथा पुरानै टहरामा बस्दै आएको प्रहरीका लागि सुबिधासम्पन्न पूर्वाधार बनेपछि सेवा प्रदान गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले बताउनुभयो । पहिलेको टहराबाट सेवा दिँदा अप्ठेरो महसुस गरेको प्रहरीका लागि नयाँ पूर्वाधार बन्नु खुसीको कुरा रहेको उहाँले बताउनुभयो ।