क्रिकेट प्रतियोगिताको उपाधि १ नं. वडाले जित्यो

पाल्पा । तानसेन नगर खेलकुद विकास समितिले सञ्चालन गरेको प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि तानसेन १ को ‘ए‘ समूहले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा १ नं. वडाको ‘ए‘ समूहले ९ नं. वडाको समूहलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

विजयी बनेसंगै १ नं. वडाको ‘ए‘ समूहले नगद ६० हजार, ट्रफी प्राप्त गर्यो भने, ९ नं. वडा उपविजेता हुदै ३० हजार प्राप्त गरेको छ । फाइन खेलमा टस जितेर पहिले ब्याटिङ्ग रोजेको ९ नं. वडाले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सबै विकेट गुमाएर ८१ रन बनाएको थियो । जसका लागि लागि गोपाल तिमिल्सेनाले २४ रन, भुवन पाण्डेले १८ रन, विजय बौडेलले ९ रनको योगदान गरे । बलिङ्ग तर्फ १ नं. वडाको ‘ए‘ समूहका अर्पन अर्याल र रुपेश बस्यालले समान ३/३ विकेट लिए । यस्तै विमर्श दर्नालले दुई, श्रीधर बस्याल र शिव शर्माले एक एक विकेट लिन सफल भएका थिए ।

८२ रनको विजयी लक्ष्य सहित मैदानमा उत्रिएको १ नं. वडाको ‘ए‘ ले समूहले सुरुवात राम्रो गर्न नसकेपनि रुपेश बस्याल र बिशाल दर्नालले उत्कृष्ट साझेदारी गर्दै टिमलाई विजयी बनाउन सफल भए । रुपेशले ३१ रन र बिशालले नटआउट ४३ रनको योगदान गरे । वलिङ्गतर्फ ९ नं. का भुवन पाण्डेले २ विकेट लिन सफल भए ।

१ नं. वडाको ‘ए‘ समूहले निर्धारित २० ओभरको खेलमा १५ दशमलभ ४ ओभरमा जित हात पारेको हो । फाइनल खेलका म्यान अफ द म्याच १ नं. वडाको ‘ए‘ समूहका बिशाल दर्नाल भएको नगर खेलकुद विकास समितिका संयोजक हेमन्तराज शाक्यले जानकारी दिनुभयो ।

तानसेन नगरभित्रका ९ वडाका १४ टिम सहभागीता रहेको प्रतियोगिता लिग कम नक आउटको आधारमा खेलाइएको थियो । फाइनलमा म्यान अफ दि फाइनल १ नं. वडाका विशाल दर्नाल भए । खेल अवधिभर ११ विकेट र ४४ रन बटुल्ने अर्पण अर्याल प्लेयर अफ दि सिरिज बन्न सफल भएका छन । खेल अवधिमा १५ विकेट लिने १ नं. वडाको (ए) समूहकै विमर्श दर्नाल उत्कृष्ट बलर भए भने १११ रन बटुल्न सफल उत्कृष्ट व्याट्सम्यान रुपेश बस्याल भएका छन् ।

खेलाडीलाई लुम्बिनी प्रदेशसभा सदस्य वीर बहादुर राना, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, नगर खेलकुद विकास समितिका संयोजक शाक्यलगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभयो ।

सम्बन्धित खवर