दरबार परिसरको ढुङ्गा बिछ्याउने काम अलपत्र

पाल्पा । तानसेन नगरपालिकाको दरबार परिसरमा ढुङ्गा बिछ्याउने योजना अलपत्र परेको छ ।

हतारमा दरबार परिसरका ५७ घरटहरा हटाएको नगरपालिकाले उक्त क्षेत्रको व्यवस्थापनका लागि गर्नुपर्ने काममा भने ध्यान दिन सकेको देखिएको छैन । ढिला गरेर Çयाग स्टोन बिछ्याउने योजनाको टेण्डर गरेपनि निर्धारित समयमा काम सम्पन्न नहुँदा दरबार परिसर क्षेत्र व्यवस्थित हुन सकेको छैन । नगरपालिकाले सही रूपमा कामको जिम्मेवारी प्राप्त निर्माण व्यवसायीलाई काममा लगाउन नसक्दा आलोचना खेप्नु परेको छ ।

पुरातत्व विभागको पाल्पा दरबार विश्व सम्पदा सूचीको बैकल्पिक सूचिमा परेको जानकारी गराउँदै दरबार परिसरको व्यवस्थापनमा तानसेन नगर सरकारलाई सघाउँन आग्रह गरेअनुसार नगरपालिकाले सर्वपक्षीय सहमतीमा गत बैशाख ६ गते घर टहराका संरचना भत्काउने काम गरेको थियो । त्यसपछि व्यवस्थापनको काम तत्काल गर्नुपर्ने भएपनि स्रोत सुनिश्चिता नभएका कारण केही समय ढिला भएपनि नयाँ आर्थिक वर्षको सुरुबाटै काम गर्ने गरी ठेक्का प्रक्रियामा गएको तानसेन नगरपालिकाका सूचना अधिकारी भरत्तप्रसाद आर्चायले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले २०८० असार ३ गते तानसेन ३ र ४ नं. वडाको दरबार, सडक, शित्तलपाटी क्षेत्रमा काम गर्नेगरी एबि विल्डर्स ग्रुप एण्ड सप्लायर्स काठमाण्डौसँग ४१ लाख ६९ हजार ६ सय ४३ रुपैयाँ ३७ पैसामा सम्झौता गरिएको हो । २०८० मंसिर ३० गतेसम्म काम सक्ने गरी भएको ठेक्का सम्झौतामा निर्माण व्यवसायीले सामान्य ढुङ्गासोलिङ र वालुवा झार्ने काम मात्र गरेर लापरवाही गरेकोले समस्या भएको सूचना अधिकारी आचार्यको भनाइ छ ।

ढुङ्गा छाप्ने काम गर्ने निर्माण व्यवसायीले गरेको लापरवाहीका विषयमा नगरपालिका गम्भीर भएर अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । उहाँले निर्माण व्यवसायीलाई समयमा काम सम्पन्न गर्नका लागि पटकपटक ताकेता गर्दा पनि आलटाल गर्ने गरेको बताउनुभयो । निर्माण व्यवसायी सम्पर्कमा रहेको र पछिल्लो समय ढुङ्गा ल्याउने श्रोत बन्द भएकोको कारण देखाएर काम अगाडि नबढाउँदा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो ।

निर्माण कम्पनीलाई पहिला कामलाई प्राथमिकता दिन भनिएको छ । सम्पर्कमै भएकोले अहिले म्याद थप गर्न नसकिने अवस्था रहेको र पछि कामको आधारमा मुल्यांकन गरिने गरी काम अगाडि बढाएन उहाँको भनाइ छ । अटेर गरेर बसेमा कानुनी प्रक्रिया अगाडि बढाउने जानकारी समेत दिएको प्रमुख प्रशासकीय अधिकत ज्ञवालीले बताउनुभयो । दरबार परिसर व्यवस्थापनमा घरटहराका संरचना हटाउँदा देखाएको उत्साह व्यवस्थापन कार्यमा नदेखिएकोले नगरवासीले भत्काउन सजिलो हुने तर बनाउनमा ध्यान समयमा पुग्न नसक्ने गुनासो गर्न थालेका छन् । सामाजिक सञ्जाल फेसबुकमै योजनाको सूचना पाटी राखेर नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

दरबार परिसरमा ढुङ्गा छाप्ने काम नहुँदा यो क्षेत्र नै अस्तव्यस्त बनेको छ । पर्यटकीय क्षेत्रका रूपमा रहेको दरबार संग्रहालय क्षेत्रको व्यवस्थापनमा भएको ढिलासुस्तीले नगरबासीलाई निरास बनाएको छ ।

सम्बन्धित खवर